सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरास्थित ज्ञानोदय नमूना माविमा विहीवारदेखि शुरु भएको शैक्षिक महोत्सवमा विद्यार्थी उत्साहित बनेका छन् । आफ्नो प्रतिभा प्रष्फुटन गर्न पाउँदा खजुरा क्षेत्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थी महोत्सवमा उत्साहित बनेका हुन् ।
महोत्सवमा चित्रकला, अनुलेखन, पठनबोध, हाजिरीजवाफ, गायन, एकल नृत्य सामूहिक नृत्य, कविता वाचन, शैक्षिक सामग्री मूल्यांकन, वक्तृत्वकला विद्यार्थीवीच प्रतिस्पर्धा गराइएको छ भने पुरुष शिक्षकका लागि घैटोफोड र महिला शिक्षकका लागि कुर्ची दौड राखिएको छ ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा भएको शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप २०७६ को गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उद्घाटन गर्दै खजुरालाई शैक्षिक हब बनाइने बताए । खजुरा शिक्षामा अगाडि बढिसकेको बताउँदै उनले शैक्षिक सुधारका लागि महोत्सव कोशेढुंगा सावित हुने उल्लेख गरे ।
महोत्सवमा खजुरा क्षेत्रका ३९ विद्यालय सहभागी छन् । शुक्रवारसम्म चल्ने महोत्सवको व्यवस्थापन जिम्मा पाएको ज्ञानोदय नमूना माविका प्रधानाध्यापक तथा खजुरा गाउँपालिका शिक्षा समिति सदस्य ऋषिराम सापकोटाले सहभागीलाई स्वागत गरेका थिए । उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर केसीले कार्यक्रमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा प्रदेश नं. ५ का सदस्य डम्बर विक तुफान, रेडक्रस खजुराका अध्यक्ष जीवनाथ सापकोटालगायतले शैक्षिक क्षेत्रमा राम्रो शुरुवात भएको बताए ।
शैक्षिक सामग्री प्रदर्शनी तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिताको प्रत्येक विद्यामा आकर्षक पुरस्कार तथा ट्रफिको समेत व्यवस्था गरिएको छ । सहभागी विद्यालयले महोत्सव स्टलमा शैक्षिक सामग्री प्रदर्शनीमा राखेका छन् ।