सहकारी बित्तीय विकासमा २६ करोड ठगी

१२ जेष्ठ २०७६, आईतवार १९:०३
 
सहकारीका अध्यक्ष चौधरी ।

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी वित्तिय विकास संस्था लिमिटेडमा कारोडौंको ठगी भएको खुलासा भएको छ । रकम हिनामिना भएको सूचना बाहिरिएपछि आन्तरिक छानविनमा २६ करोड ठगी गर्ने कर्मचारीलाई कागजात गराएर जोगाउन खोजेको खुलासा भएको हो ।
कागजात गरेका कर्मचारीहरु सम्पर्कबिहीन भएपछि सहकारीले १५ दिनका लागि कामकाज बन्द भएको सूचना निकालेको छ । बचतकर्ताले रकम हिनामिनाको सुइको पाएपछि आइतवार सहकारी र प्रशासनमा घेराउ गरेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले आन्तरिक छानबिनको प्रतिवेदन बुझेपछि सहकारीको बदनामी हुने भन्दै बैशाख १६ गते हिनामिनामा मुछिएका कर्मचारीलाई एकबर्षभित्र रकम फिर्ता गराउने कागजात गराएको बताए ।
सहकारीको छानविन समितिको प्रतिवेदनमा प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सुर्यकुमार विकले ६४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक, बैजापुर शाखा प्रमुख लिलाधर र नायब प्रबन्धक सुवेदी पनि विरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहिन भएको अध्यक्ष चौधरीले जानकारी दिए । श्रोतका अनुसार उनीहरुले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका अध्यक्ष चौधरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगिएको छ । प्रहरी स्रोतका अनुसार चौधरीलाई थुनामा नभई सुरक्षाको दृष्टिकोणले प्रहरी सुरक्षामा राखिएको छ ।

Next Post

करेन्ट लागेर बालकको मृत्यु

१२ जेष्ठ २०७६, आईतवार १९:०३
सदरलाइनडटकम, रुकुम पश्चिम : रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका १३, छिबाङमा करेन्ट लागेर ११ वर्षीय केशव परियारको मृत्यु भएको हो । उनको घर जिल्लाको सानीभेरी गाउँपालिका ११ मा भएपनि छिबाङमा फुपूको घर आएका परियार घरनजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर […]