सदरलाइनडटकम,
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुको महान चाड इदुल फित्रका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन, नेपाल मुस्लिम संघ र जमियत उल्मले गरेको मागअनुसार सरकारले इदुल फित्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
साथै बकरइद र मोहम्मद जयन्तीमा पनि सार्वजनिक विदा दिने निर्णय भएको नेपाल मुस्लिम संघले जनाएको छ । संघीय सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईको विशेष पहलमा सार्वजनिक विदा दिइएको बताइएको छ ।
योसँगै सरकारले २०७६ सालका लागि १३ वटा विदा थपेको छ । किराँत चाड उभौली, (बुद्ध पूर्णिमा) उधौली, क्रिसमस डे, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ पर्व, ऋषि पञ्चमी (महिलालाई मात्र), माघी पर्व र जनै पूर्णिमा गरी १३ वटा विदा थपेको छ । अन्य विदा भने २०७५ सालमा घोषणा गरिएअनुसार रहने जनाइएको छ ।
सार्वजनिक विदाका लागि विशेष पहल गरेको भन्दै मुस्लिम समुदायले मन्त्री राईलाई धन्यवाद दिएको छ । इदुल फित्रमा सार्वजनिक विदा दिने निर्णयसँगै मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा वलीलाई धन्यवादसमेत दिएका छन् ।