भारतीय लोकसभा निर्वाचनमा बलिउड हस्ती

१० जेष्ठ २०७६, शुक्रबार १७:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको लोकसभा निर्वाचनमा बलिउडका केही चर्चित हस्ती प्रत्यक्ष रुपमा होमिएका थिए । तीमध्ये केही जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही पराजित भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए ।
उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीको उम्मेदवारका रुपमा पञ्जावको गुरुदासपुर क्षेत्रको चुनावी मैदानमा होमिएका थिए । विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा भारतीय जनता पार्टीबाट विजयी हुने चार सांसदमध्ये सनी देओल एक हुन् । उनले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गरे ।
बलिउडमा आफ्नो जमानामा ‘ड्रिम गर्ल’ उपनाम पाएकी हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । उनी मथुरा क्षेत्रबाट उम्मेदवार भएकी थिइन् । उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् । बलिउड अभिनेता राज बब्बर लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनी कांग्रेसका उत्तर प्रदेश अध्यक्षसमेत हुन् । आगराको फतेहपुर सीकरी क्षेत्रबाट उम्मेदवार भएका उनी भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए ।
बलिउड नायिका उर्मिला मातोंडकर हालै राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी कांग्रेस पार्टीबाट नर्थ मुम्बई क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी पनि नराम्ररी पराजित भइन् । उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले ४ लाख ६५ हजार २४७ मतले पराजित गरे । चण्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी चरित्र अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई ४६ हजार ९७० मतले पराजित गरिन् । अभिनेत्री खेर भारतीय जनता पार्टीबाट निर्वा्चित भएकी हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वा्चित भएकी थिइन् ।
अभिनेत्री जया प्रदा हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी उनी भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी समाजवादी पार्टीका नेता आजम खानसँग एक लाख ९ हजार ९९७ मतले पराजित भइन् । बंगाली अभिनेत्री मुनमुन सेन आसनसोल निर्वाचन क्षेत्रमा बलिउडका हस्ती बाबुल सुप्रियोसँग पराजित भएकी छन् । त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका उम्मेदवार सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन् ।
भारतीय जनता पार्टीमा लामो समय राजनीतिक जीवन बिताएर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हाका लागि दल परिवर्तन गर्नु घातक सिद्ध भयो । उनले पटना साहिव निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग करिब तीन लाख मतले पराजय झेल्नु परेको छ । दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज बेंगलुरु सेन्ट्रल क्षेत्रबाट निर्दलीय उम्मेदवार बनेका थिए । उनी ५ लाख ७३ हजारभन्दा बढी मतले पराजित भएका छन् । भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेका उनी ३ लाख एक हजार ६६४ मतान्तरले विजयी भएका छन् ।
भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका थिए । उनले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई साढे तीन लाखभन्दा बढी मतले पराजित गरे । कन्नड अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरिन् । सुमनलता निर्दलीय उम्मेदवार हुन् । उनले एक लाख २५ हजारभन्दा बढी मतले निखिललाई पराजित गरेकी हुन् ।
(एजेन्सी)

Next Post

कश्मिरमा सैन्य कारबाही हुँदा मुसा मारिए

१० जेष्ठ २०७६, शुक्रबार १७:५४
सदरलाइनडटकम, काठमाण्डौ : भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जाकिर मुसा सैन्य कारबाहीमा मारिएका छन् । जम्मु कश्मिर क्षेत्रमा चरमपन्थी गतिविधि गरेको भन्दै मुसालाई भारतले आतंककारी घोषणा गरेर सर्वाधिक खोजीको सूचीमा राखेको थियो । दक्षिण कश्मीरको ट्राल जिल्लामा उनकै घरमा सेनाले गरेको कारबाहीमा बिहीवार राति अन्सार गजावत उल हिन्दका प्रमुख जाकिर […]

सम्बन्धित