कुकुरको सहयोगमा लागूऔषधसहित सात पक्राउ

  
  प्रकाशित मितिः सोमवार, जेष्ठ ६, २०७६       | 97 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रतिबन्धित लागूऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो प्रदेश नं. ५ नेपालगञ्जको टोलीले उनीहरुलाई सोमवार नेपाल भारत नाका जमुनहाबाट पक्राउ गरेको हो । लागूऔषध सम्बन्धि विज्ञ कुकुरको सहायोगले प्रतिबन्धित लागू पदार्थसहित सात जनालाई नियन्त्रणमा लिएको ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए ।
भारतबाट नेपालगञ्ज आउँदै गरेकालाई कुकुरले सुँघेर पहिचान गरेको बताउँदै उनले लागूऔषधको विज्ञ गौरी नामक पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको बताए । कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिएको थापाले जानकारी दिए । उनले सीमावर्ती भारतीय बजार रुपईडिहाबाट आउँदै गरेका घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद भएको बताए ।
यस्तै नेपालगञ्ज १८ भुजईगाउँका किशोरकुमार धोवीलाई पनि प्रहरीले जमुनहा नाकाबाट नियन्त्रणमा लिएको छ । कुकुरको सहायतामा उनलाई नियन्त्रणमा लिएको थापाले बताए । उनको साथबाट ४ ट्याब्लेट नाइट्रोसन, १० क्याप्सुल स्पासमो र एक बोत्तल अल्टोरेक्स बरामद भएको छ । प्रहरीले सोमवारनै थप एकजनालाई पनि नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताए ।
हरिजनको साथबाट ३९ ट्याब्लेट नाइट्रो भ्याट बरामद भएको छ । पोलिथिन झोलामा रहेको चनाभित्र लुकाएर रुपईडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीका अनुसार, रुपईडिहाबाट आउँदै गरेका थप दुई जनाबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ । ति दुवैजनालाई अभिभावकको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ६, २०७६     7:38:19 PM  |