सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी विधेयक विरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय समिति बैठकले थप आन्दोलन गर्ने निर्णय गरेको हो ।
‘पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।’
मन्त्रीपरिषद्बाट पारित भएर बैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक विरुद्ध महासंघले पदर्शन गर्दै आएको छ । उक्त विज्ञप्ति मार्फत् पहिलो चरणको आन्दोलन सफल गराउन सहयोग गर्ने सबैलाई महासंघले धन्यवादसमेत दिएको छ ।
