घुस लिएको आरोपमा वनका दुई पदाधिकारी पक्राउ

  
  प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६       | 125 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : घुस लिएको आरोपमा बाँकेस्थित एक सामुदायिक वनका दुई पदाधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले ५ लाख घुस लिएको आरोपमा लामीडाँडा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई नियन्त्रणमा लिएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका १ स्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई ५ लाख घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष कामी र कोषाध्यक्ष खुनाले काठको टेण्डर मिलाइ दिने भन्दै ५ लाख रकम लिएको अवस्थामा उनीहरुलाई कुसुमको बैरीयाबाट नियन्त्रणमा लिइएको सूचना अधिकारी कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घुस रकमसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार नेपालगञ्जले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     6:32:37 PM  |