घोराहीस्थित आईस उद्योगमा शीलबन्दी

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख २७, २०७६       | 69 Views   ||

सदरलाइनडटकम,
दाङ : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले घोराहीको एउटा आईस जुस सेन्टरमा उत्पादनमा रोक लगाएको छ । घोराही उपमहानगरपालिका १५ बालमन्दिर नजिकै रहेको पशुपती आईस जुस सेन्टरले अखाद्य पदार्थबाट उत्पादन गरिरहेको कार्यालयले फेला पारेपछि उत्पादनमा रोक लगाएको हो ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपाने र खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेक बन्जारा सहित विभिन्न सरोकारवाला पक्षका प्रतिनिधीहरुले शुक्रवार अनुगमन गरी उक्त आईस तथा जुस सेन्टरलाई उत्पादनमा रोक लगाएका हुन् ।
आईस तथा जुस उत्पादनमा अखाद्य बस्तुहरु प्रयोग गरेको, धाराको पानी प्रशोधन नगरी प्रयोग गरेको र अप्रशोधित विधीबाट उत्पादनहरु गरीरहेको फेला परेपछि सुधारेर मात्रै व्यवसाय सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको हो । खिया लागेको भाँडोमा विभिन्न प्रकारका आईसहरु उत्पादन गर्दै आएको सेन्टरलाई उद्योग नविकरण गर्न समेत टोलीले निर्देशन दिएको छ ।
अनुगमन टोलीमा उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा, जिल्ला प्रशासन, जिल्ला प्रहरी, होटल व्यवसायीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । गर्मी मौसममा बढी प्रयोग हुने चिसो पदार्थहरुको प्रयोगमा ध्यान नदिदा अखाद्य बस्तुहरु खानु परेको अबस्थालाई सुधार्न अनुगमन गरिएको खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत बन्जाराले जानकारी दिएका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २७, २०७६     5:55:44 PM  |