पाथिभरा राष्ट्रिय प्रतियोगितामा आर्मी र पुलिस फाइनलमा

  
  प्रकाशित मितिः बुधबार, बैशाख २५, २०७६       | 66 Views   ||

सदरलाइनडटकम,
ताप्लेजुङ : पाथिभरा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधिका लागि २ विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । पुलिसले गण्डकी प्रदेशमाथि र आर्मीले एपीएफमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाए । ताप्लेजुङको नारायणी माविको खेल मैदानमा भएको सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
एपीएफविरूद्ध चिरप्रतिद्वन्द्वी आर्मीले २५–२१, २५–२०,२०–२५ र २६–२४ को सेटमा पराजित गर्यो । ७ जना राष्ट्रिय टोलीका खेलाडीसहित उत्रिएको आर्मीले शुरूवातदेखि नै एपीएफलाइ दबावमा राखेको थियो । अब उसले उपाधिका लागि साविकको विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पुलिसले गण्डकी प्रदेशलाई २५–१५, २६–२४ र २५–१७ को सेटमा हराउँदै फाइनलमा स्थान बनायो । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रूपैयाँ हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख २५, २०७६     5:51:47 PM  |