श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच झडप, १५ जनाको मृत्यु

१४ बैशाख २०७६, शनिबार १५:१९
 

सदरलाइनडटकम,
काठमाण्डौ : श्रीलंकाको पूर्वी तटीय क्षेत्रमा सुरक्षाकर्मी र ’संदिग्ध’ विद्रोहीबीच भएको झडपमा १५ जनाको ज्यान गएको छ । शुक्रवार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको प्रहरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन् ।
झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको पनि ज्यान गएको सेनाका प्रवत्ताले दाबी गरेका छन् । विद्रोही समूह सम्भवतः इस्लामिक स्टेट (आईएस) हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । यसअघि गएको आइतवार इस्टर पर्वको अवसरमा भएको सिलसिलाबद्ध बम विस्फोटमा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए भने ४ सय ५० बढी घाइते भएका थिए । सिलसिलाबद्ध बम विस्फोटको ६ दिनपछि सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको हो । गत आइतवार भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
विद्रोही समूहका लडाकुहरु लुकेर बसेका छन् भने एक जना हवलदारको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा दोहोरो भिडन्त भएको हो । जब सुरक्षाकर्मी विद्रोही समूहका लडाकु लुकेर बसेको घरमा पसे, घरभित्रबाट फायरिङ भयो । प्रहरीका अनुसार एक आत्मघाती लडाकुले विस्फोट गराएका हुन् ।
छापा मार्ने काम अहिले पनि जारी छ र यो घटनामा सशस्त्र बलका कुनै पनि जवानको हताहत नभएको प्रहरीले बताएको छ । यसैबीच श्रीलंकाको क्याथोलिक चर्चले आइतवार हुने प्राथना अनिश्चितकालका लागि बन्द गरेको बीबीसीले जनाएको छ । फेरि पनि आक्रमणको चेतावनी आएकाले अनिश्चितकालको लागि प्राथना स्थगित गरिएको हो ।
(एजेन्सी)

Next Post

कर्मचारी नहुँदा कालीकोटमा दैनिक कार्य प्रभावित

१४ बैशाख २०७६, शनिबार १५:१९
सदरलाइनडटकम, कालीकोट : कर्मचारी समायोजनका कारणले जिल्लाका स्थानीय तहको काम कारबाही प्रभावित भएको छ । स्थानीय तहमा कर्मचारी नहुँदा काम कारबाही प्रभावित भएको हो । कालीकोटका नौ वटा स्थानीय तहका कर्मचारी समायोजनका क्रममा अन्यन्त्र सरुवा भएको र समायोजन रोजेर स्थानीय तहमा अन्य कर्मचारी आउन नमान्दा कर्मचारी अभाव भएको हो । […]

सम्बन्धित