भर्ना अभियानमा सांसद् गहतराजद्वारा घरदैलो

१३ बैशाख २०७६, शुक्रबार १७:१२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : शिक्षामा पछाडि परेको बाँकेको नरैनापुर गाउँपालिकामा भर्ना अभियानलाई प्रभावकारी बनाउन सांसद् पनि घरदैलो कार्यक्रममा सहभागी भएका छन् । वडा नम्बर ५ मटेहियामा गरिएको घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले पनि सहभागिता जनाएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
वडा नम्बर ५ को जयरामपुर्वाबाट बाजागाजा र र्यालीसहित शुरु भएको घरदैलो जमुनाहा हुँदै मटेहियामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै सांसद् गहतराजले शिक्षामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको र भर्ना अभियानमा उर्जा थप्न स्वयं उपस्थित भएको बताए । उनले आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गर्न अभिभावकहरुलाई आग्रह गरे ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भौतिक विकासले मात्र समाजको विकास पूरा नहुने बताउँदै पारिवारिक र सामाजिक विकासका लागि शिक्षा जरुरी रहेकाले आफूले हरसम्भव प्रयास गरिरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा सरोकारवाला संघसंस्था भर्ना अभियानमा संगसंगै रहेको भन्दै भर्नादर सत् प्रतिशत बनाउन आफूहरु लागिपरेको बताए ।
२०६८ को जनगणनाअनुसार गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको जानकारी दिँदै उनले गाउँपालिकाले यस बर्ष २ हजार ४ सय जनालाई साक्षर बनाएको र अझैं झण्डै ७ हजार ६ सय नागरिकले राम्रोसंग पढ्न र लेख्न नजान्ने तथ्यांक प्रस्तुत गरे । उनले २ हजार विद्यालय जाने उमेरका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको जानकारी दिए । गाउँपालिकाले वडा नम्बर १ कट्कुइँयाबाट थालेको घरदैलो कार्यक्रम ६ वटै वडामा सम्पन्न गरेको छ ।

Next Post

नेपाल अडिटर्स एशोसियसन (अडान) बाँकेमा गैरे

१३ बैशाख २०७६, शुक्रबार १७:१२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल अडिटर्स एशोसियसन (अडान) बाँकेको पाँचौ जिल्ला अधिबेशनले भुवनप्रसाद गैरेको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नेपालगन्जमा सम्पन्न जिल्ला अधिबेशनबाट उपाध्यक्षमा दीपकप्रसाद रेग्मी, सचिवमा तुलाराम कूर्मी, कोषाध्यक्षमा प्रकाश जंग राणा र सहसचिवमा हरि निरौला चयन भएका छन् । यसैगरी कार्यसमितिका सदस्यहरुमा […]

सम्बन्धित