प्रशासन कार्यालयबाटै फडेरा पुनः पक्राउ

१० बैशाख २०७६, मंगलवार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ गरेको छ ।
आइतवार अदालतबाट रिहा भएलगत्तै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्जस्थित प्रदेश शाखा कार्यालय पुगेका थिए । फडेरा वस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका थिए । आयोगको संरक्षणमा रहेका फडेरालाई बाँके प्रहरीले आइतवार रातीसम्मै आयोगको कार्यालय घेराउ गरेको थियो ।
अदालत परिसरमै पक्राउ गर्न लागेको खबर पाएलगत्तै आयोगको टोलीले अनुगमन गरेको आयोग नेपालगञ्ज शाखा प्रमुख चापागाईले बताए । प्रहरी उपरीक्षक पौडेलले प्रहरीले आफ्नो कर्तब्य पालना गरेको प्रतिक्रिया दिएका छन् । अपराीधलाई समात्नु प्रहरीको पहिलो कर्तब्य रहेको बताउँदै उनले नीतिभन्दा बाहिर गएर प्रहरीले कुनै कार्य नगरेको दावी गरे ।
विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका फडेरालाई आजै राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालयले परिवारको जिम्मा लगाएलगत्तै प्रहरीले पक्राउ गरेको हो । आयोगको नेपालगञ्ज शाखा कार्यालयको संरक्षणमा रहेका फडेरालाई जिल्ला प्रशासन मार्फत परिवारको जिम्मा लगाई सकुशल घर जाने क्रममा पक्राउ पुर्जीसहित प्रशासन परिसरमा रहेको प्रहरीले पुनः पक्राउ गरेको थियो ।
आयोगको संरक्षणमा बसेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन राष्ट्रिय मानवअधिकार आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोमवार पत्राचार गरेको थियो । चौतर्फीरुपमा मानव अधिकार आयोगकै विरोध भएपछि आयोगले फडेरालाई मंगलवार बाँके प्रशासनमा पेश गरेको थियो ।
बसमा आगजनी गरेको काण्डमा फरार अभियुक्त फडेरालाई मंगलवार पुनः कोहलपुर प्रहरीले पक्राउ गरी कैलाली पठाएको बाँकेका प्रहरी उपरीक्ष्क पौडेलले जानकारी दिए । कैलाली जिल्ला अदालतबाट फडेरलाई आगजनी प्रकरणमा पक्राउ गरी पेश गर्न आदेश भएबमोजिम प्रहरीले पुनः पक्राउ गरी कैलाली पठाएको उनले बताए ।

Next Post

तेक्वान्दोमा पुलिस ११ स्वर्णसहित च्याम्पियन

१० बैशाख २०७६, मंगलवार १७:५८
सदरलाइनडटकम, भैरहवा : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदकसहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भएको हो । त्यसै […]