विमान दुर्घटनामा सबैको परिचय खुल्यो

  
  प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६       | 53 Views   ||

सदरलाइनडटकम,
सोलुखुम्बु : सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान भएको छ । आइतवार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेमा समिट एयरलाइन्सका कोपाइलट काठमाण्डौको चावहिलका ३४ वर्षिय सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ वर्षीय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र भोजपुर घर भएका प्रहरी सहायक निरीक्षक ४२ वर्षीय रुद्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा समिट एयरलाइन्सका पाइलट काठमाण्डौका रविनाथ रोकाया र मनाङ एयरलाइन्सको हेलिकप्टरका चालक ललितपुर भैँसेपाटीका ४८ वर्षीय चेब बहादुर गुरुङ रहेको खुल्न आएको छ ।
त्यस्तै मनाङ एयरलाइन्स लुक्लाका स्टेशन म्यानेजर खुम्बु पासाङल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरलाइन्सकै कर्मचारी खुम्बु पासाङल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये रोकाय र गुरुङको अवस्था गम्भीर छ भने शेर्पा र कार्कीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।
बिहान पर्यटक लिन रामेछापको मन्थली विमानस्थल जान उड्न लागेको विमान करिब २ सय मिटर पर पुगेर धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिए । विमानमा चालक र सहचालक तथा एक जना एयरहोस्टेस रहेको अधिकारीले बताए ।

प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६     4:43:36 PM  |