वार्षिकोत्सवमा जनता बैंकद्वारा प्रभातफेरी

  
  प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५       | 79 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : १० औं वार्षिकोत्सवका अवसरमा जनता बैंकले नेपालगञ्जमा प्रभातफेरी कार्यक्रम गरेको छ । धम्बोझी चोकबाट प्रभातफेरी शुरू भई बिपी चोक, त्रिभुवन चोक, पुष्पलाल चोक हुँदै शाखा कार्यालयमा पुगेर समापन भएको थियो । ‘आजको बचत भोलिको सुरक्षा’ मूल नारासहित प्रभातफेरी निकालिएको थियो ।
‘नोटमा केरमेट नगरौं, समृद्धिको लागि बैंकमा बचत गरौं’ उद्धमी बनी ऋणको सदुपयोग गरौं, एक व्यक्ति एक खाता जिवन सुरक्षाको लागि आवश्यकता’ जस्ता नारा लेखिएको प्ले कार्डसमेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालगञ्ज र कोहलपुर शाखाका कर्मचारीको उपस्थिति थियो । दश वर्षदेखि निरन्तर सेवाग्राही र बचतकर्तामा सेवारत रहँदै आएको बैंकले अगामी दिनमा थप सेवासुविधा विस्तार गर्ने बताएको छ ।
२०७५ पौष मसान्तसम्मको वित्तीय विवरणअनुसर बैंकले करीब ६८ अर्ब निक्षेप र ६४ अर्ब कर्जा परिचालन गरि ५४ करोडको नाफा आर्जन गर्न सफल भएको नेपालगञ्ज शाखा प्रमुख कृष्णराज बाराकोटीले जानकारी दिए । बैंकको चुक्ता पुंजी ८ अर्बभन्दा माथि रहेको र हाल १२९ शाखा रहेको बाराकोटीले बताए ।
‘क’ वर्गको मान्यता प्राप्त जनता बैंकले मेरो तलब खाता, जनता सुरक्षा बचत खाता, जनता लाकर सुविधा, जनता स्पेशल बचत खाता, जनता अवकाश कोष आदि विभिन्न प्रकारका बचत खाता सञ्चालन गरेको छ । बैंकले जनता ‘ट्राभल कार्ड’ नेपाल, भारत र भुटानबाहेक जुनसुकै देशमा रहेका भिसा एटीएम र पोष्ट मेशिनबाट कारोबार गर्नसक्ने कार्डसमेत सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५     3:33:25 PM  |