कञ्चनपुर क्षेत्रमा गिद्धको संख्या बढ्दै

२३ चैत्र २०७५, शनिबार १४:५४
 

सदरलाइनडटकम,
कञ्चनपुर : प्रकृतिको कुचिकारका रुपमा चिनिने अति संकटापन्न अवस्थामा रहेका गिद्धको संख्या बढ्दै गएको छ । स्थानीय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्या बढ्दै गएको हो । बासस्थानको सुरक्षा हुन थालेपछि गिद्धले सहजरुपमा बस्ती नजिकैका क्षेत्रमा गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् ।
नेपाल पंक्षी संरक्षण संघका हिरुलाल चौधरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर पोष्ट नजिकको क्षेत्रमा १२, हिरापुर फाँटामा ६ र निकुञ्जकै मध्यवर्ती क्षेत्र बन्साहामा ८ गुँड गिद्धले लगाएको पाइएको छ । गिद्ध सर्भेक्षणका क्रममा गिद्धका गुँडहरु पाइएका हुन् । सबैभन्दा बढी गिद्धले लालझाडी मोहना संरक्षण क्षेत्रको पर्सियामा २१ वटा गुँड लगाएका छन् ।
उक्त संरक्षण क्षेत्रमा डंगर जातका गिद्धका दुई बच्चा बिरामी अवस्थामा फेला परेकाले उपचार भईरहेको उनले बताए । हुर्किने क्रममा बच्चा उडन नसक्दा घाइते भई बिरामीसमेत हुने गरेका छन् । निकुञ्जको हिरापुर फाँटामा सानो खैरो गिद्ध मरेको अवस्थामा फेला परेको र निकुञ्जकै कालीकिच क्षेत्रमा बिरामी परेको गिद्ध निको भएर उडेको उनले बताए ।
मरेको गिद्धबारे अनुसन्धान भइरहेको उनको भनाई छ । संरक्षण संघले गरेको सर्भेक्षणमा कञ्चनपुरमा गत वर्ष ११९ गिद्ध फेला परेका थिए । यस वर्ष गिद्धको संख्यामा बढोत्तरी भई १५० देखि २०० को हाराहारीमा पुगेको हुनसक्ने चौधरीको अनुमान छ । विश्वमा गिद्धका २३ प्रजाति पाइने गरेपनि नेपालमा गिद्धका नौ प्रजाति मात्रै पाइने गरेका छन् ।

Next Post

शिविरबाट तीन हजार लाभान्वित

२३ चैत्र २०७५, शनिबार १४:५४
सदरलाइनडटकम, डोटी : डोटीको आदर्श गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट २ हजार ९ सय २१ जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा ६ सय ३ जनाले नागरिकता प्राप्त गरेको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए । […]