आठौँ राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्साहित

१९ चैत्र २०७५, मंगलवार १६:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि खेलाडी उत्साहित भएका छन् । दुई बर्षको अवधिमा आठौँ राष्ट्रिय प्रतियोगितमा प्रतिष्पर्धा गर्न पाउने भएपछि खुशी लागेको सातौँ राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स तर्फ स्वर्ण पदक विजेता बाँकेका एम साजन सुनारले बताए । आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तय भएपछि उत्साहित भएको उनले बताए ।
उनले प्रतियोगिताले सहभागी हुने अवसरले गर्मीलाई गौण बनाई दिएको बताए । ‘राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा खुशीको कुरा हो, घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन,’ सुनारले भने । बाँकेका अभिभामान चौधरी पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताए । उनले प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाएकोमा खुशी छन् । ‘प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,’ उनले भने ।
एथलेटिक्सकी खेलाडी विश्वरुपा बुढा सातौँ राष्ट्रिय प्रतियोगितामा बाँकेबाट प्रतिष्पर्धा गरिन् । उनले एथलेटिक्समा स्वर्ण पदक जितिन् । ‘प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा ठूलो अवसर हो,’ उनले भनिन्, ‘आठौँमा पनि आफ्नो प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।’ उनले गर्मीले खेल खेल्न कुनै असर नगर्ने बताइन् । ‘खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,’ उनले भनिन् ।
आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तय भएपछि खेलाडी उत्साहित भएको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए । उनले खेलाडीहरु स्वस्फुर्तरुपमा अभ्यास गरिरहेको बताए । ‘प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,’ उनले भने ।


गर्मीमा मात्र खेल्न सकिन्छ पौडी र भारोत्तोलन
पौडी र भारोत्तोलन गर्मीमा मात्र खेल्न सकिने भएकोले बैशाख महिना उपयुक्त भएको पूर्व खेलाडीले बताएका छन् । भारोत्तोलन खेल चिसो मौसममा खेल्न नसकिने पूर्व खेलाडी तथा भारोत्तोलन संघका केन्द्रिय सदस्य शमशुद्दिन सिद्धिकीले बताए । उनले भारोत्तोलन प्रतियोगितामा भाग लिनुभन्दा पहिलो शरीरलाई हिट (तातो) बनाउनु पर्ने भएकोले चिसो मौसममा खेल्न नसकिने बताए ।
‘भारोत्तोलनका लागि बैशाख महिना एकदमै उत्तम महिना मानिन्छ,’ भारोत्तोलन एशियाड गेम खेलिसकेका सिद्धिकीले भने । पौडीका लागि पनि बैशाख महिना एकदमै उत्तम भएको पौडीका स्वयमसेवक प्रशिक्षक चन्द्र चौधरीले बताए ।
उनले नेपालका पौडी पोखरीमा बढिमा पाँच महिनामात्र प्रतियोगिता गराउन सकिने बताए । उनले पौडी पोखरीको पानी चिसो हुने भएकोले नेपालका पौडी खेलाडी भारतमा गएर प्रशिक्षण लिने गरेको सुनाए । ‘पौडीका लागि पनि बैशाख महिना एकदमै उत्तम मानिन्छ,’ उनले भने ।

Next Post

भेरीलाई प्रदेस्तरीय अस्पताल बनाइने : मन्त्री राई

१९ चैत्र २०७५, मंगलवार १६:५२
सदरलाइनडटकम, नेपालगञ्ज : शहरी विकास मन्त्री मो.इस्तियाक राईले इण्डोर ब्लक निर्माण शुरु भइसकेकोले अस्पतालमा आउने विरामीहरुले पूर्वाधार अभावमा सेवाबाट प्रभावित हुन नपर्ने बताएका छन् । धेरै पटकको प्रयासपछि भेरी अस्पताललाई स्तरोन्नति गर्न सफल भएको भन्दै उनले आफ्नो कार्यकालमा यस क्षेत्रका नागरिकलाई एउटा सानो उपहार दिन पाएकोमा खुशी लागेको बताए । […]