सिंहवाहिनीद्वारा कुमाललाई आर्थिक सहयोग

१९ चैत्र २०७५, मंगलवार १५:२८
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : सिंहवाहिनी नृत्य कला मन्दिर भुरीगाँउ बर्दियाले करेन्ट लागेर दुवै हात गुमाएका बाँकेका सुरेश कुमाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं.१ स्थित कुशुममा रहेको कुमालको घरमा पुगेर कला मन्दिरका अध्यक्ष तारा केसी र कोषाध्यक्ष सिमा चन्दले आर्थिक सहयोग प्रदान गरेका हुन् ।
सहयोग अभियानमा एक्यवद्धता जनाउँदै कुमाल दम्पत्तीलाई नगद ५१ हजार १ सय उपलब्ध गराएको कला मन्दिरका अध्यक्ष तारा केसीले बताए । कुमालको सहयोगार्थ जापानमा रहेका नेपालीद्धय अरुण क्षेत्री र भगवान भण्डारी लगायतका साथीहरुले आफुलाई १ लाख (जापानी रकम) उपलब्ध गराएको केसीले बताए । ‘हामीलाई जापानमा बस्ने साथीहरुले केही रकम उपलब्ध गराउनुभएको थियो, सोही रकममध्येबाट पहिलो चरणमा कुमाल दम्पत्तीलाई ५१ हजार १ सय सहयोग प्रदान गरेका छौं’ केसीले भने ।
सिंहवाहिनी नृत्य कला मन्दिरका कोषाध्यक्ष सिमा चन्दले दुबै हात गुमाएका सुरेश कुमाललाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताईन । ‘सामाजिक क्रियाकलापमा नेतृत्वदायी भुमिका खेल्दै आएको सिंहवाहिनी नृत्य कला मन्दिरले पहिलो पटक शारिरिक रुपमा असक्त ब्यक्तिलाई सहयोग गर्ने अवसर पाएको छ, यो आफैमा गौरवको कुरा हो’ चन्दले भनिन, ‘आगामी दिनमा समेत सहयोग अभियानलाई निरन्तता दिनेछौं ।’
सहयोग प्राप्त भएपछि आफुुुहरुमा थप हौसला बढेको सुरेश कुमालले प्रतिक्रिया दिए । कुमालले सहयोगीहरुबाट प्राप्त रकमलाई आय आर्जनमा लगाउने बताए । श्रीमान् अपाङग भएकै कारण परिवार र समाजबाट अपहेलीत हुनुपरेको कुमालकी श्रीमती यलिना कुमालले बताईन् । ‘आफ्नो परिवारले हामीलाई राम्रो नजरले हेर्दैैैनन, बस्नेखाने ठाँउको कुनै टुङगो छैन’ कुमालले भनीन, ‘तपाईहरुको सहयोगले केही गर्ने हिम्मत बढेर आएको छ ।
यसअघि गजेन्द गुरुङले आफनो जन्मदिनको अवसर पारेर कुमाल दम्पत्तीलाई १० हजार नगद सहयोग प्रदान गरेका थिए । समाजमा रहेका असक्त, अपाङ्ग तथा दिनदुखीहरुलाई सहयोग गरी मानवीय धर्म निर्वाह गर्न गुरुङले सबैलाई आग्रह समेत गरेका छन् ।

यसरी काटिएको थियो हात
बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुशुम निवासी सुरेश कुमाल २०६९ फागुन १२ गते विद्युतीय दुर्घटनामा परेका थिए । कामको सिलसिलामा लमजुङ पुगेका कुमालले स्काभेटरको सहचालकका रुपमा काम गर्न थाले । २०६९ फागुन १२ गते स्काभेटरको ग्रिस बदल्ने क्रममा विद्युतको नाङ्गो तारमा अल्झिएका कुमालले आफ्ना दुबै हात गुमाउनु पर्यो ।
दुर्घटनापछि अचेत अवस्थामा ३ महिनासम्म कुमालको किर्तिपुर अस्पताल काठमाण्डौमा उपचार भयो । चार महिनापछि होस खुल्दा उनका दुबै हात काटिएका थिए । आर्थिक अवस्था कमजोर भएका कुमालको आर्थिक अभावका कारण थप उपचार सम्भव भएन । दुबै हात गुमाएर गृहजिल्ला फर्किएका कुमाललाई घरपरिवारले बोझका रुपमा हेर्न थाले । खानेपिउनेदेखि शौचालयसम्म दैनिक गतिविधिकालागि अरुकै भर पर्नुपर्ने कुमाल तब झनै एक्लो भए जब उनकी श्रीमतीले छाडेर गईन । घरपरिवारबाट समेत अपहेलना खेप्दै आएका कुमालले गाँउकै अलिना कुमालसँग दोस्रो बिहे गरेपछि भने केही आशा पलाएको बताए ।
‘दुर्घटनामा मेरो दुबै हात काटिएपछि मेरी श्रीमतीले छोडेर गईन्, घरपरिवारले समेत वेवास्ता गर्न थाल्यो’ कुमालले भने ‘सबैको अपहेलना खेप्दै आएको मलाई अलिनाले साथ दिईन र म अहिलेको अवस्थामा आईपुगेको छु ।’ अलिना कुमालकी दोस्रो श्रीमती हुन् । फेसबुकबाटै मायाँ प्रेममा बाँधिएका कुमाल दम्पतीले दुई वर्षअघि बिहे गरेका हुन । बिहेपछि अलिनाले नै कुमालको सम्पूर्ण हेरचाह गर्दै आएकी छन ।


खुट्टाले लेखेर एसएलसी पास
आर्थिक जोहोकालागी लमजुङ पुगेका कुमालले दुबै हात काटिएपछि जिवनको आशा नै मारिसकेका थिए । खाना खान, लुगा लगाउन देखि शौचालय जानसम्म अरुकै भर पर्नुपर्ने कुमाल परनिर्भर हुन चाहेनन् । उनले खुट्टाले खाना खाने, ब्रस गर्ने, लेख्ने प्रयास गरीरहे । धेरै समयमको प्रयासपछि कुमाल सबै काम खुट्टाकै भरमा गर्न सक्ने भए । जसले गर्दा आफुमा आत्मबल बढेको कुमाल बताउँछन । कुमालले खुट्टाले लेखेरै एसएलसी समेत पास गरेका छन् । उच्च शिक्षा हासिल गर्ने मनशासयका साथ अगाडी बढिरहेका कुमाल आर्थिक अभावका कारण अगाडी बढ्न नसकेको बताउँछन् ।
घरबाट छुट्टिएर बसेका कुमालले राप्तीसोनारी गाँउपालिकाबाट मासिक २ हजार भत्ता पाउँदै आएका छन । तर आर्थिक उपार्जनको अन्य कुनै उपाय नरहेकाले दैनिकी चलाउन समेत हम्मेहम्मे परेको कुमालको दुखेसो छ । राज्यले आर्थिक उपार्जनको केही व्यवस्था मिलाई दिनु कुमालले माग गरे ।
कुमाललाई सहयोग गर्न चाहने ब्यक्तिले ९८६८०२३९०२, ९८४८२२०३७८, ९८६४८५५८०७ वा ९८५८०३६८९६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Next Post

आठौँ राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्साहित

१९ चैत्र २०७५, मंगलवार १५:२८
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि खेलाडी उत्साहित भएका छन् । दुई बर्षको अवधिमा आठौँ राष्ट्रिय प्रतियोगितमा प्रतिष्पर्धा गर्न पाउने भएपछि खुशी लागेको सातौँ राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स तर्फ स्वर्ण पदक विजेता बाँकेका एम साजन सुनारले बताए । आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तय भएपछि उत्साहित भएको उनले बताए । […]

सम्बन्धित