सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमवार बिहान आगलागी भएको छ । आगलागीबाट उद्योगको गोदाम घरमा भण्डारण गरिएको करीब ५० लाख मूल्य बराबरको कपास जलेर नष्ट भएको उद्योग सञ्चालकले बताएका छन् ।
आगलागीको खबर पाएलगत्तै नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमलकको सहायतामा प्रहरी र स्थानीय बासिन्दाको टोलीले आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाङीले जानकारी दिए ।
बिहान १० बजे उद्योगमा कोही नभएको अवस्थामा भित्रबाट धुवाँ निस्केपछि आगो लागेको थाहा भएको हो । शारदा कपास उद्योगमा अघिल्ला वर्षमा पनि आगलागी भएको थियो । आगलागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


