सडक निर्माणमा एसएसबीद्वारा अवरोध

  
  प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५       | 76 Views   ||

सदरलाइनडटकम,
कञ्चनपुर : नेपाली भूमिमा सडक निर्माण गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हस्तक्षेप गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकै सडक निर्माण गरिरहेका बेला विवादित क्षेत्र भएको भन्दै एसएसबीका जवानले काम गर्न अवरुद्ध गरेका हुन् ।
गत साउनमा भीमदत्त नगरपालिकाअन्तर्गतको क्षेत्रमा एकलौटी ढंगले सडक निर्माण गर्न खोजेको भारतले अहिले नेपाली पक्षलाई आफ्नै भूमिमा सडक निर्माण गर्न रोकेको छ । भारतीय सीमा सुरक्षा बलका जवानले सो क्षेत्र विवादित रहेको भन्दै सर्भे टोलीले नक्सांकनको काम नगरुञ्जेल सडक निर्माण नगर्न आग्रह गरेका छन् । यसअघि नेपाली भूमीसम्म भारतले सडक निर्माण गर्न खोजेपछि स्थानीयले विरोध जनाएपछि दुवै पक्षका उच्च अधिकारीबीच आ–आफ्नो भूमिमा पर्ने सडक आफैं निर्माण गर्ने मौखिक सहमति भएको थियो ।
सोही सहमति अनुसार नेपालतर्फको १ सय ५० मिटर सडक कालोपत्रे गर्नका लागि भीमदत्त नगरपालिकाले न्यूजोशी कन्स्ट्रक्शनलाई जिम्मेवारी दिइसकेको छ । तर सडक निर्माण गर्न भारतीय सीमा सुरक्षा बलले नदिएको भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथको भनाई छ । टनकपुर बाँध निर्माणकै बेला ३ नम्बर सीमा स्तम्भ हराएपछि स्थानीयले त्यसकै आसपासमा रहेको सिंढीलाई सीमास्तम्भ मान्दै आएका छन् । अर्कोतिर सरकारले पनि हराएका सीमा स्तम्भका बारेमा चासो नदिएको उनीहरुको गुनासो छ । अर्को्तिर नेपाललाई विवादित क्षेत्र भनेर काममा अवरोध गरेको भारतीय पक्षले आफूहरुले भने सोही क्षेत्रमै विभिन्न गतिविधि गर्दै आइरहेका छन् ।
गत माघमा कञ्चनपुरकै डोकेबजारमा एकलौटीरुपमा ट्रेन्ज खनेको भारतले अहिले अन्तर्रा्ष्ट्रियस्तरको जैविक मार्ग बन्द हुने गरी तारबार लगाउने काम गरेको छ । यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य भने सीमामा दुवै देशका सर्भे टोलीले काम गरिरहेको बताउँछन् । सन् १९९६ को केन्द्रिय सहमति भएको बताउदै भारतीय पक्षले टनकपुर ब्यारेजदेखि ब्रम्हदेब बजारसम्म आफ्ना भूमि दावी गर्ने गरेको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५     2:42:36 PM  |