नरैनापुरलाई फुसरहित बनाईंदै

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५       | 41 Views   ||

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालित विपन्न घर मर्मत कार्यक्रमअन्तर्गत सोमवार ६५ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर ३ का कोदीपुर्वा, कोटिया र बहाउपुर्वाका ५६ दलित र अन्य ९ परिवारलाई प्रति परिवार १६ वटाका दरले जस्तापाता वितरण गरेका हुन् ।
गाउँपालिकामा फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न घर मर्मत कार्यक्रम शुरु गरिएको हो । चालु आर्थिक बर्षमा गाउँपालिकाका १ सय २५ विपन्न घर परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । पहिलो चरणमा वडा नम्बर ५ नयाँ बस्तीका ६० विपन्न घर परिवारलाई जस्तापाता वितरण गरिएको थियो ।
गाउँपालिकाको ३० प्रतिशत र ह्याबीट्याट फर ह्युम्यानिटी नेपाल तथा महिला उपकार मञ्च कोहलपुर बाँकेको ७० प्रतिशत लागतमा विपन्न घर मर्मत कार्यक्रम गरिएको हो । ह्याबीट्याट र उपकारको २८ लाख तथा गाउँपालिकाको ७ लाख ५० हजार लागतमा जस्तापाता वितरण गरिएको मञ्चकी उपाध्यक्ष चन्द्रकला न्यौपानेले बताइन् । फुसको छानाका कारण नरैनापुरमा गर्मीयाममा बर्षेनी आगालागीका घटना हुँदा बस्ती नै सखाप हुने गरेका छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५     4:27:48 PM  |