नेपालगञ्जमा उपमेयर छात्रा क्रिकेट हुने

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५       | 31 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवारदेखि प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता २०७५ हुने भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मंगल प्रसाद माविमा सञ्चालन हुने प्रतियोगितामा १४ टीम सहभागी हुने संयोजक एवं प्रशिक्षक जमील अन्सारीले बताए ।
संघले सोमवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । छात्र प्रतियोगिताका लागि तीन लाख वजेट छुट्याएको उपमहानगरपालिकाले छात्रा क्रिकेट तालिम र प्रतियोगिताका लागि ६ लाख सहयोग गरेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले महिला क्रिकेटको उद्गमस्थल नेपालगञ्जमा क्रिकेट विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा उपमेयर उमा थापा मगरले क्रिकेट सुधारका लागि प्रतियोगितासँगै मैदान लगायतका पुर्वाधार निर्माणलाई प्राथमिकता दिइने जिकिर गरिन् । २८ गतेसम्म चल्ने प्रतियोगितामा विहान र साँझ गरि दुई वटा खेल खेलाईने क्रिकेट संघ बाँकेका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रोलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने उनले बताए । मंगलवार हुने उद्घाटन खेलमा सरस्वती माबि र वेस्ट जोनबीच प्रतिस्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका उपाध्यक्ष सञ्जय सिंह, वडाध्यक्षहरु सुनिलसिंह हमाल, विरेन्द्र शाहलगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५     5:47:25 PM  |