नेपालगञ्जमा आजदेखि प्रादेशिक महोत्सव शुरु

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन १९, २०७५       | 24 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा आजदेखि प्रादेशिक महोत्सव शुरु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर कारकादोमा “प्रादेशिक महोत्सव–२०७५” शुरु भएको हो । फागुण २९ गतेसम्म सञ्चालन हुने महोत्सवको भव्य समारोहकाबीच शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उदघाटन गरे ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सांसदसमेत रहेका मन्त्री राईले समृद्धि बाँकेको यात्रा शुरु भएको उद्घोष गर्दै केही वर्षमा बाँकको विकासले गति लिने दाबी गरे । बाँकेमा विकास र समृद्धिका लागि आवश्यक पुर्वाधार तथा योजना शुरु भइसकेको जिकिर गर्दै उनले जाति, धर्म, सम्प्रदायको संरक्षण गरेपनि त्यसैका नाममा राजनीति गरेर नेपालगञ्जलाई मनोबैज्ञानिकरुपमा बिभाजन गर्ने दिन अब नरहेको तर्क गरे । नेपालगञ्जलाई राजधानी बनाउने कुरामा विगतमा मुख्य राजनीतिक दल चुकेको भन्दै मन्त्री राईले त्यो प्रयास फेरी जारी राख्नुपर्ने कुरामा जोड दिए ।


उद्घाटन समारोहमा बोल्दै प्रदेश नम्बर ५ की कृषि मन्त्री आरती पौडेलले बाँकेको समृद्धिलाई कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरिन् । उनले प्रदेश सरकारले पनि बाँकेलाई बिशेष महत्वका साथ हेरेको जानकारी दिईन् । उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले प्रदेश राजधानीको दृष्टिकोणले बुटवल अनुपयुक्त भएको बताउँदै उपयुक्त ठाउँमा राजधानी हुनुपर्ने माग गरे । नेपालगञ्जलाई राजधानी नबनाए त्यसको विकल्प खोज्नेसमेत उनीहरुले चेतावनी दिए । प्रतिनिधीसभा सांसद महेश्वर गहतराज अथकले बाँकेको समृद्धिका लागि केन्द्रलाई घचघच्याउने काम भइरहेको बताए । राँझा बिमानस्थलाई क्षेत्रीय बिमानस्थल बनाउने, नेपालगञ्ज बिश्वबिद्यालयको बिधेयक व्युताउने बिषयमा छलफल भइरहेको उनले जानकारी दिए ।


त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनीधि तिवारी, नेपाली काँग्रेसका जिल्ला सभापति किरण कोइराला, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलगायतले जिल्लाको समृद्धिको बिषयमा बोलेका थिए । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका थिए ।
महोत्सव शुरु हुनुअघि बिहान नेपालगञ्जमा विशाल झाँकी निकालिएको थियो । वाणिज्य संघको कार्यालय त्रिभुवनचोकबाट शुरु भएको झाँकी महोत्सव स्थल पुगेर समापन भएको थियो । २०५७ सालदेखि नेपालगञ्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा तीन सय बढि स्टल रहने छन् । स्थानीय र राष्ट्रीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतीसमेत रहने छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १९, २०७५     7:02:31 PM  |