जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत

१८ फाल्गुन २०७५, शनिबार १४:५३
 

सदरलाइनडटकम,
दार्चुला : दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रवार राति भएको जीप दुर्घटनामा मृतक सबै एघार जनाको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म १ ज २८० नम्बरको जीप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दार्चुलाका नौ जना र बैतडीका दुई जना यात्रु छन् । सशस्त्र प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम, वडा नम्बर २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनकी १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, त्यसै ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।
यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर र्पुयाउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।
जीप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिस गरिएको छ । उहाँको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताउनुभयो । चार दिनअघि त्यस क्षेत्रमा पहिरोमा परि एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जीप दुर्घटना भएको हो ।
जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ । क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताउनुभयो । त्यो सडकखण्ड उकालो छ । दार्चुला–तिङ्कर सडकमा गत वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जीप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जीप सञ्चालनमा रोकसमेत लगाइएको हो ।
साँघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् । जीप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले शव परीक्षणको काम भईरहेको छ । अहिले अस्पतालमा आफन्तहरुको भिड लागेको छ । यो वर्षकै ठूलो जीप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जीपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Next Post

मुलुकमा इमान्दार नेता छैनन् : पूर्वराष्ट्रपति

१८ फाल्गुन २०७५, शनिबार १४:५३
सदरलाइनडटकम, काठमाण्डौ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दाबी गरेका छन् । उनले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन चुनौति दिए । डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा शनिवार बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा […]