बचत गर्ने महिला नेपालगञ्जमा सम्मानित

१६ फाल्गुन २०७५, बिहीबार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बचत समूहमा आवद्ध पाँच दर्जन महिलालाई नेपालगञ्जमा सम्मान गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रका विभिन्न बचत कार्यक्रममा आवद्ध उत्कृष्ठ महिला सदस्यहरुलाई सम्मान गरिएको हो ।
महिला बचत तथा लघु ऋण परिचालन समन्वय समिति बाँकेद्वारा दुई दिनसम्म सञ्चालित वार्षिक समीक्षा गोष्ठीका क्रममा पहिलो दिन प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले उत्कृष्ठ महिलाहरुलाई सम्मान गरिन् । उनले आयोजक संस्थाले महिलाहरुलाई बचत कार्यक्रममा सहभागी गराई बचत गर्ने बानीको विकास गर्दै आर्थिक स्वावलम्वन तर्फ उन्मुख गराउँदै आएकोमा सह्राना गरिन् ।
उपमेयर थापाले महिलाहरुलाई विभिन्न किसिमका तालिमहरुको माध्यमबाट महिलाहरुलाई सशक्तिकरण गर्दै स्वनिर्णय गर्ने क्षमताको विकास, सामाजिक प्रतिष्ठा कायम गर्ने लगायतको काममा योगदान गरिएको बताइन् । वार्षिक समीक्षा गोष्ठीको दोस्रो दिन विहीवार प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहले थप अन्य उत्कृष्ठ महिलाहरुलाई सम्मान गरेकी थिइन् ।
उनले पितृसत्तात्मक सोंचका कारण पनि महिलाहरु माथि हुने विभिन्न भेदभावलाई अन्त्य गर्न पनि महिलाहरु स्वयम् अग्रसर हुनुपर्ने धारणा राखिन् । गोष्ठीमा समन्वयकारी र सहयोगीको भूमिका निर्वाह गर्दै आएको ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दुई दिनसम्म प्रत्येक समूह र समूह सदस्यहरुको बचत तथा बचत परिचालनको अवस्थाबारे जानकारी गराएकी थिइन् । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा ७ वटा केन्द्रहरुमा एकीकृत विभिन्न बचत समूहमा आवद्ध करीब एक सय भन्दा बढी अगुवा महिलाहरुको सहभागिता रहेको संस्थाकी उपाध्यक्ष तारा केसीले जानकारी दिइन् ।
गत आर्थिक वर्षको आर्थिक क्रियाकलापको लेखा परीक्षण र मूल्याङ्कनका आधारमा छनौट गरिएका ६१ जना उत्कृष्ठ महिला सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गोष्ठीको अध्यक्षता गर्ने केन्द्र नं. ३ की अध्यक्ष पवित्रा अर्याल र केन्द्र नं. ५ की अध्यक्ष जीवकला अधिकारीले स्वागत तथा धन्यवाद ज्ञापन गर्दै संस्थाले हामीलाई आर्थिक र सामाजिक रुपमा सक्षम गराउन योगदान दिएको बताइन् ।

Next Post

शिवरात्री विशेष कार्यक्रम नेपालगञ्जमा शुरु

१६ फाल्गुन २०७५, बिहीबार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा पहिलो पटक चौथो शिव साधना अर्थात् शिवरात्री बिशेष बिहीवारबाट शुरु भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदन बाबाको सानिंध्यमा शुरु भएको शिवरात्री विशेष २० गतेसम्म सञ्चालन हुनेछ । शिव साधना आयोजना मुल समिति नेपालगञ्जको आयोजनामा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय पछाडी भृकुटीनगरमा शिव साधना शुरु […]

सम्बन्धित