अज्ञात समूहको निशानामा ‘एनसेल’

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५       | 50 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज (डेस्क) : बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा अज्ञात समूहले बम विस्फोट र आगजनीका घटना तीब्र पारेको  छ ।   जसको निशानामा दूरसञ्चार  सेवा प्रदायक कम्पनी एनसेल परेको छ । शुक्रवार साँझ अज्ञात समूहले ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विष्फोट गरायो । जुन घटनामा एक जनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु समेत भएको छ । मृत्यु हुनेमा सिंह प्रसाद गुरुङ रहेका छन् । यस्तै दुई जना घाइते भएका छन् । घाइतेहरु प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

कमलपोखरीमा प्रेसर कुकर बम
यता शुक्रवार साँझ नै काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला पर्यो । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।

एनसेल र ट‍ेेलिकमका विभिन्न टावरमा आगजनी
जाजरकोटको नलगाड नगरपालिका–१ जुरेलीस्थित एनसेलको टावरमा आगजनी भएको छ । अज्ञात समूहले शुक्रवार राती टावरमा आगजनी गरेका थिए । प्रहरी नायव उपरीक्षक स्याम खत्रीले आगोले टावरमा जडान गरिएका ७ वटा सोलार सेट पड्किएको जानकारी आएको बताए । यसैगरी राेल्पाकाे सुलिचौरमा नेपाल टेलिकमकाे टावरमा अज्ञात समुहले आगजनी  र  विष्फोट गराएकाे छ । 
यस्तै बागलुङका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा बिहीवार राति अज्ञात समूहले आगजनी गरेको छ । बागलुङ नगरपालिका–७ मुलपानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए ।
उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा शुक्रवार राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ ।
यसैगरी रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा पनि एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिए । आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ ।
यस्तै कपिलबस्तुको वाणगङ्गा नगरपालिका–११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ । गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विप्लव समूहले अन्य जिल्लामा टावर जलाउने क्रममा वडा नम्बर ११ मा पनि क्षति भएकाले सोही समूहले नै गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।
यता प्रदेश गणडकी प्रदेशस्थित कास्कीको पोखरामा पनि आगजनी भएको घटना सार्वजनिक भएको छ । शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको हो । काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो ।
यसैगरी गएराती पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो ।
यसैगरी नुवाकोटमा पनि एनसेलको टावरमा आगजनी भएको छ । विदुर नगरपालिका–२ स्थित रहेको सो टावरमा गएराति आगजनी भएको हो । उता अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रवार राति आगजनी भएको छ । आगजनीबाट एनसेलको मोबाइल सेवा अवरुद्ध भएको छ । शुक्रवार मध्यराति गरिएको आगजनीबाट साढे दुई मिटर जति तार जलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यस्तै अज्ञात समूहले शुक्रवार नै म्याग्दीका विभिन्न चार ठाउँमा रहेका एनसेलका रिपिटर टावरमा आगजनी गरेको छ । समूहले एनसेलको बेनीनगरपालिका–३ भकिम्ली सेले, मंगला गाउँपालिका–३ बरंजाझाँक्रेपानी, रघुगंगा गाउँपालिका–५ झिंको टोड्के र मालिका गाउँपालिका–१ निस्कोटस्थित टावरमा आगो लगाएको प्रहरीले जनाएको छ । एकपछि अर्को गर्दै एनसेलका टावरमा आगजनी र बम विस्फोटका घटना हुन थालेपछि प्रहरीले देशभरको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरुलाई अलर्ट रहन निर्देशन दिएको प्रहरी प्रवक्ता उत्तम कुमार सुवेदीले जानकारी दिए । कतिपय घटनामा विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका गरेपनि हालसम्म पुष्टि हुन सकेको छैन । यस विषयमा विप्लव नेतृत्वको नेकपा पनि मौन देखिएको छ । प्रहरीले भने सबै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५     3:36:51 PM  |