मुख्यमन्त्री पोखरेलद्वारा ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ उद्घाटन

२४ माघ २०७५, बिहीबार १५:१९
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ सरकारको महत्वाकांक्षी कार्यक्रममध्येको एक ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ शुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–९ को बुद्धनगरस्थित लोकनाथ खरालको खेतमा फर्सीको बिरुवा रोपेर मुख्यमन्त्री शंकर पोखरेलले कार्यक्रम शुरु भएको घोषणा गरेका हुन् ।
‘एक निर्वाचन क्षेत्र, एक स्मार्ट कृषि गाउँ कार्यक्रम’ सञ्चालन कार्यविधि बनाएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका बाँकी ५१ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम सुरु गर्दैछ। यो कार्यक्रमबाट सरकारले कृषिमा उत्पादकत्व वृद्धि गरेर प्रदेशमा कृषि उपज आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । स्मार्ट कृषि गाउँमा ५० लाख रुपैयाँ विनियोजन गरेर किसान समूह, सहकारीमार्फत कार्यक्रम लागू हुनेछ ।
कार्यविधिअनुसार सरकारले दिएको ५० लाख रुपैयाँलाई ८० प्रतिशत रकम मानेर अरु २० प्रतिशत रकम स्थानीय सरकार, सहकारी, किसान समूहले लगानी गर्ने छन् । चालू आर्थिक वर्षमा सरकारले यस कार्यक्रमका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । स्मार्ट कृषि गाउँमा किसानहरुले गर्ने खेती प्रणालीको प्रवर्धनदेखि कृषि उपज उत्पादन, भण्डारण, बजारीकरणसम्मको कार्य पूरा गर्ने प्रदेश ५ कृषि मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले जानकारी दिए ।
स्मार्ट कृषि गाउँमा किसानलाई सहयोग गर्न मल, बीउबिजन, उत्पादित वस्तु संकलन र बजारीकरण गर्न सहकारीमार्फत काम गरिने उनले जानकारी दिए । कार्यक्रमअनुसार जलवायु स्मार्ट, सिँचाइ स्मार्ट, पोषकतत्व स्मार्ट, प्रविधि स्मार्ट, बजार स्मार्टलगायतका अन्य कार्यक्षेत्र छुुट्टाइएको छ । उनका अनुसार प्रदेश ५ का ५२ वटै निर्वाचन क्षेत्रमा गाउँ छनोटको काम सकिएको छ । मन्त्रालयले प्राविधिक हिसाबले कृषि तथा वनविज्ञान विश्वविद्यालयसँग सहकार्य गर्नेछ । मन्त्री पौडेलका अनुसार स्मार्ट कृषि गाउँमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को टिम पनि परिचालित हुनेछ ।
यस्तै, कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समूहले सामाजिक परिचालनदेखि किसानको खेतबारीको अवस्थाको अध्ययनका बारेमा प्रारम्भिक विश्लेषण गर्नेछ । कार्यक्रमले कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाउने र किसानलाई प्रतिस्पर्धात्मक बनाउँदै दिगो रुपमा आयस्तर वृद्धि गर्ने उद्देश्य राखेको छ । बाँझो र खाली रहेका जग्गाको उपयोग, कृषि जैविक विविधताको संरक्षण र प्रवद्र्धन गर्ने, खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने, कृषिमा रोजगारीका अवसर सिर्जना गर्दै महिला र युवालाई उद्यमशील बनाउनेजस्ता ४ वटा उद्देश्य लिएको सचिव देवकोटाले बताए ।
यो कार्यक्रम तरकारी, कुखुरापालन, पशुपालन, माछापालन र बालीजन्य उत्पादनका लागि सञ्चालन हुनेछ । कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषिमा उत्पादन लागत घटाएर किसानको आम्दानी बढाउनका लागि ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ प्रभावकारी हुने बताए ।
मुख्यमन्त्रीले पराम्परागत प्रणालीलाई आधुनिक बनाउन नसक्दा नयाँ पुस्तालाई कृषिमा जोड्न नसकिएकोले कृषिलाई आधुनिक बनाएर नयाँ पुस्तालाई जोडिने उनको भनाई थियो । उनले स्मार्ट कृषि कार्यक्रमले किसानको घरदैलोमा प्रविधि लिएर आएको र किसानले व्यवहारमा सिकेको अनुभवलाई पनि आत्मसात गरी कार्यक्रम अघि बढाइने उल्लेख गरे ।

Next Post

कुलचन्द्र गौतम स्मृति संस्थाद्वारा त्रिविमा संस्कृत अनुसन्धानमा सहयोग

२४ माघ २०७५, बिहीबार १५:१९
सदरलाइनडटकम, काठमाडौं  : त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द गौतम स्मृति संस्थाविच संस्कृत केन्द्रीय विभागको नाममा वहुउदेश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योग लगायतका विधाहरुमा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ । उपकुलपति कार्यालयमा बिहिबार आयोजित सम्झौता पत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गदै त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समाजका महत्वपूर्ण […]