प्रदेश ५ को राजधानी तोक्न माग गर्दै प्रदेशसभा स्थगित

२३ माघ २०७५, बुधबार १७:२१
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नं ५ को स्थायी राजधानी तथा नामाकरणको विषयमा बुधवार सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयमा टुङ्गो नलाग्दासम्म संसद् चल्न नदिने अडान लिए ।
सभामुख पूर्णबहादुर घर्तीले नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकाललाई समय उपलब्ध गराएर बोल्न थाल्दा होहल्ला गरेपछि प्रतिपक्षी दलका प्रदेशसभा सदस्य र सभामुख घर्तीबीच झण्डै पाँच मिनेट भनाभन भएको थियो । होहल्ला गर्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्य रोस्टममा उभिएका बेला सभामुख घर्तीले आसनग्रहण गर्न आग्रह गरेका थिए ।
आसनग्रहण नगरेपछि सभामुख घर्तीले २४ गतेसम्मका लागि प्रदेश नं ५ को प्रदेशसभा स्थगन भएको घोषणा गरे । प्रतिपक्षी दल काङ्ग्रेसका १९ प्रदेशसभा सदस्य रहेको प्रदेश नं ५ मा आज १० प्रदेशसभा सदस्य सहभागी थिए । सभामुख घर्तीले बैठकको एजेण्डामा नभएको विषयलाई लिएर प्रदेशसभा अवरोध गर्न नहुनेमा जोड दिँदै सहमतिको विन्दुमा पुग्नुपर्छ भने । उनले सत्तापक्षको धारणा आएपछि मात्रै विषयको टुङ्गो लाग्ने उल्लेख गर्दै स्थायी राजधानीको विषय राजनीतिक दलको विषय भएको बताए ।
नेकपाका सचेतक ढकालले राजधानी कहाँ बनाउने भन्ने विषय राजनीतिक भए पनि प्रदेशसभाले टुङ्गो लगाउनु पर्ने बताए । प्रदेश नं ५ प्रतिपक्षी दलका नेता शर्माले स्थायी राजधानी र नामकरणका विषयमा बनेको समितिले कुनै काम गर्न नसकेको जिकिर गर्दै तीन जिल्ला छुटेकाले नाम थप गर्न सत्तापक्षबाट अनुरोध आएकाले आफूहरु नाम थप गर्ने पक्षमा नभएको बताए, उनले राजनीतिक सहमतिबाट स्थायी राजधानी र नामकरण टुङ्गो लागे पनि घोषणा प्रदेशसभाबाट हुन्छ भने ।
प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको थियो ।

Next Post

भोलीदेखि वर्षा र हिमपात हुने : मौसमविद्

२३ माघ २०७५, बुधबार १७:२१
सदरलाइनडटकम, काठमाण्डौ : केही दिनदेखि मौसममा सुधार भई तापक्रम बढेपनि बुधवार साँझदेखि बदली हुने र पश्चिमी र मध्य भागका उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोली देशका अधिकांश स्थानमा वर्षा हुने, उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा […]