प्रहरी इनकाउण्टरमा सप्तरीमा एकको मृत्यु

९ माघ २०७५, बुधबार १०:५४
 

सदरलाइनडटकम,
सप्तरी : सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत रुपनी–राजविराज सडक खण्डमा बुधवार विहान प्रहरी इनकाउण्टरमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार सप्तरीको सुरुङ्गा नगरपालिका कडरबोनाका करिब ३० वर्षीय दिपेन्द्र चौधरी बुधवार बिहान साढे ४ बजे प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका हुन् ।
रुपनी चोकदेखि करीब एक किलोमिटर दक्षिण सडकमा सवारी साधन चेकजाँच गरिरहेको प्रहरी टोलीलाई लक्षित गरी दक्षिणतिरबाट आएको मोटरसाइकलमा चढेका व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा चौधरी मारिएको प्रहरी उपरीक्षक विष्टले बताए ।
तीब्र गतिमा आउँदै गरेको मोटरसाइकल रोक्न खोज्दासमेत नरोकी मोटरसाइकलको पछाडी बसेका व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । विष्टकाअनुसार नम्बर नखुलेको मोटरसाइकलसहित चालक भने फरार भएकाले खोजी भइरहेको छ ।
यसैबीच प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका चौधरी २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका प्रहरी सहयाक निरीक्षक रेशम सुब्बाको गोली हानी हत्यामा संलग्न रहेको प्रहरीको दाबी छ ।
त्यस्तै, चौधरी इलाका प्रहरी कार्यालय कडरबोनाको गस्तीमा रहेको भ्यानलाई लक्षित गरी २०७४ साउन २१ गते राति सुरुङ्गा नगरपालिका ५ श्रीपुर गाउँमा बम विस्फोटलगायतका घटनामा संलग्न रहनुका साथै सप्तरीको बिसनपुर चोकमा डयुटीमा रहेका प्रहरी हवल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत सलग्न रहेको प्रहरी उपरीक्षक विष्टले बताए ।
तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता रहेका चौधरीले आफ्नै समूह बनाएर चन्दा असुलीलगायतका भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ ।

Next Post

नेपालगञ्जमा घुम्ती शौचालयद्वारा सेवा शुरु

९ माघ २०७५, बुधबार १०:५४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा बुधवारदेखि घुम्ती शौचालय सञ्चालनमा ल्याइएको छ । नगर क्षेत्रको अति व्यस्त ४ वटा स्थानमा रहने गरि उपमहानगरपालिकाले चारवटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । ५९ लाख लागतको सार्वजनिक शौचालय हाल गणेशपुर बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चौंक नजीक राखिएको छ । नगर प्रमुख डा. […]