सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले गोली चलाएका छन् । मदिरा सेवनपछि एसएसवीका जवानहरूबीच विवाद हुँदा बिहीवार बेलुकी सीमा स्तम्भ नं.२१ नजिक ११ राउण्ड गोली चलाएको स्थानीय बासिन्दाले बताएका छन् ।
गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ । लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो । सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इप्रका जवानले सुरक्षा दिइरहेका छन् ।
‘सीमा क्षेत्रमै एसएबीका जवानबीच विवाद हुँदा गोली चलाइएको बुझिएको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने, ‘भारतीय क्षेत्रमै हो । नेपालतर्फ केही भएको छैन ।’ नेपालतर्फ कुनै किसिमको त्रासको वातावरण नभएको उनले बताए ।
एसएसबीका जवानले चलाएको गोलीका ६ वटा खोका स्थानीय टेकबहादुर सुनारको आँगनमा फेला परेका छन् । दशगजा क्षेत्रमा गोली चल्न थालेपछि स्थानीय बासिन्दाको भागाभागसमेत भएको थियो ।