आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै

  
  प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५       | 46 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई आज राष्ट्रिय एकता दिवस मनाइँदैछ ।
सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर मनाईंदैछ ।
बाँकेमा क्रियाशिल विभिन्न संघसस्था तथा राजनीतिक दलले विभिन्न कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती मनाउन लागेको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर ठकुरी सहयोग सञ्जाल तथा ठकुरी पत्रकार समाज नेपालले ¥याली तथा दृष्टिविहिन बालबालिकालाई भोजन ग्रहण गराउने भएकोछ ।
सञ्जाल र समाजको आयोजनमा नेपालगञ्जको विपी चोकमा दिउँसो १ बजे ¥यालीको आयोजना गरि धम्बोझी चोकमा पुगेर समापन हुने सञ्जालका कोषाध्यक्ष अरुण विक्रम शाहले जानकारी दिए । बाँके नेत्रहिन संघमा रहेको ४३ जना दृष्टिविहीन बालबालिकालाई भोजन खुवाउने कार्यक्रम तय भएको समाजकी अध्यक्ष करुणा शाहले बताईन ।
उनले ¥यालीमा जिल्लाका सवै राजनीतिक दल, पत्रकार, कानून व्यवसायी, उद्योगी, व्यापारी, विद्यार्थी लगायत सवैलाई उपस्थितीको लागि आह्वान समेत गरेकी छन् ।
यसैबीच पृथ्वी जयन्तीको अवसरमा नेपालगञ्ज उप–महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सार्वजनिक विदा घोषणा गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका नगरकार्यपालिकाको बिहिवार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मेयर डा धवल शमसेर राणाद्वारा जारी सूचना अनुसार उप–महानगरपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र मातहतका कार्यालयलाई कार्यापालिकाको निर्णय बमोजिम बिदा दिन निर्देशन दिईएको छ ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     7:19:35 AM  |