डाक्टर केसीको सोह्रौं सत्याग्रह शुरु

  
  प्रकाशित मितिः बुधबार, पुस २५, २०७५       | 36 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : डाक्टर गोविन्द केसीले सरकारले साउन १० गते आफूसँग गरेको सहमति पालना नगरेको भन्दै इलाममा बुधबार ५ बजेदेखि १६औँ सत्याग्रह शुरु गरेका छन् । नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न डाक्टर केसीले माग गरे ।
त्यस्तै निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन पनि डाक्टर केसीले माग गरेका छन् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन सरकारसँग डाक्टर केसीले माग गरे ।
डाक्टर केसीले देशमा बढेको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने बताए । प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण भएको केसीले जिकिर गरे ।

प्रकाशित मितिः बुधबार, पुस २५, २०७५     5:38:11 PM  |