समयमै निर्माण हुन सकेन ल्याण्डफिल साइट

  
  प्रकाशित मितिः शनिबार, पुस २१, २०७५       | 53 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ मा निर्माण भइरहेको आधुनिक ल्याण्डफिल साइट निर्माणका लागि फेरि समय थप गर्नुपर्ने भएको छ । विवादले समयमै काम सञ्चालन हुन नपाएपछि पटक–पटक म्याद थप गरिएका कारण निर्माणमा ढिलाई भएपनि ल्याण्डफिल निर्माणको काम सम्पन्न हुने अवस्थामा पुगेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
पछिल्लो पटक निर्माण कम्पनीले डिसेम्बर २०१८ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । समयभित्र सम्पन्न हुन नसकेपछि तीन महिना म्याद थप गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता रिजालले बताए । निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले नै ल्याण्डफिल साइट सञ्चालन गरी स्थानीय कर्मचारीलाई सिकाउने उप–महानगरपालिकाले जनाएको छ ।
निर्मार्णाधीन ल्याण्डफिल साइटको जग्गाभित्रको क्षेत्रमा केही व्यक्तिको नाममा जग्गा पाइएपछि विवादले एक वर्षसम्म काम रोकिएका कारण समयमै निर्माण सम्पन्न हुन नसकेको कम्पनीले दाबी गरेको छ । एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत ३३ करोड ८८ लाख २७ हजार ३२५ रुपैयाँको लागतमा ल्याण्डफिल साइटको निर्माण कार्य शुरु भएको हो ।
१२ बिघा १९ कठ्ठा जग्गामा हाल ल्याण्डफिलसाइट निर्माण भइरहेको छ । १२ बिघामा नक्सा अनुसार ल्याण्डफिल साइटको निर्माण कार्य भइरहँदा बीचमा १९ कठ्ठा जग्गा व्यक्तिको नाममा पाइएको थियो । एशियाली विकास बैंकले नमुनाको रुपमा परियोजना निर्माण गर्न लागेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

प्रकाशित मितिः शनिबार, पुस २१, २०७५     6:27:38 PM  |