‘बटेजका कारण रासायनिक मलको अभाव’

२० पुष २०७५, शुक्रबार १७:४४
 

सदरलाइनडटकम,
काठमाण्डौ : कृषकहरुले यस वर्ष रासायनिक मल नपाउने भएका छन् । बजेटको अभावका कारण कृषकहरुले मल नपाउने भएका हुन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बजेटको अभावमा कृषकहरुलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको बताएका छन् । मन्त्री खनालले अर्थ मन्त्रालयले तत्काल बजेटको व्यवस्था नगरे रासायनिक मलको संकट झनै बढेर जाने स्पष्ट पारे ।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रवारको बैठकमा बोल्दै उनले रासायनिक मलको अभाव हुन नदिन देशका मुख्य–मुख्य पाँच शहरमा गोदाम स्थापना गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयसँग आग्रह गरे ।
मलका लागि छुट्टयाइएको ६ अर्ब बजेट सकिएको उल्लेख गर्दै मन्त्री खनालले थप मल ल्याउनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको समितिमा जानकारी गराए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मलको अभाव हुन नदिन वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनघढीमा गोदाम स्थापना गर्ने योजना बनाएको छ । तर त्यसलाई कार्यान्वयनमा लैजान बजेटको अभाव रहेको मन्त्री खनालको भनाई छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले भने देशमा मलको अभाव हुन नदिन सरकारले रासायनिक मल कारखाना स्थापनाका लागि पहल गरिरहेको दाबी गरे । समितिको बैठकमा अर्थमन्त्री खतिवडाले रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन प्रयास गरिरहेको उल्लेख गर्दै आगामी चैत्र १५ र १६ गते आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’मा पनि कारखाना स्थापनाका लागि आर्थिक सहायता जुटाउन पहल गर्ने योजना रहेको बताए ।
निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमै रासायनिक मलको कारखाना खोल्दा मलको अभाव नहुने अर्थमन्त्री खतिवडाको दाबी छ । मलमा किसानलाई दिइएको अनुदान सहायता दुरुपयोग हुने गरेको भन्दै अर्थमन्त्री खतिवडाले असन्तुष्टि जनाए ।

Next Post

नेपालगञ्जमा डुबान नहुने मेयर राणाको दाबी

२० पुष २०७५, शुक्रबार १७:४४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले अबदेखि बर्षातमा नगर डुबानमा नपर्ने दावी गरेका छन् । उप–महानगरपालिकाले शुक्रवार नेपालगञ्जमा गरेको नगरको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा मेयर राणाले नेपालगञ्जमा आउने बर्षातको पानी नालीबाट दोन्द्रा र रतैया नाला हुँदै भारत जाने भएकाले अब नेपालगञ्जमा डुबान नहुने बताए । सेतुक […]