इन्धनबापत दोहोरो सुविधा नलिएको मन्त्रीहरुको भनाई

  
  प्रकाशित मितिः बिहिबार, पुस ५, २०७५       | 57 Views   ||

सदरलाइनडटकम,
काठमामण्डौ : आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै मन्त्रीहरुले सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन् । इन्धनका नाममा मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुले त्यसको प्रतिकार गरेका हुन् ।
मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको नियमभित्र बसेर मात्रै आफूहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नलाग्न समग्र सञ्चारमाध्यमलाई आग्रह गरे । धुमबराहीमा बिहीवार बसेको नेकपाको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आफूले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनबापतको सेवा नलिएको दावी गरे ।
उनले मन्त्रीबारे अनर्गल प्रचारबाजीमा नलाग्न सञ्चारजगतलाई आग्रह पनि गरे । बैठकमा सहभागी मन्त्रीहरुले पनि आफूहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनँले सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नभएको दावी गरे । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पनि आफूले इन्धनबापतको सुविधा नलिएको दावी गर्दै मन्त्रालयमा आएर बुझ्न चुनौती दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैरकानुनीरुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्ने उनकै नेतृत्वको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले दोहोरो सुविधा लिएर राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीहरुको चौतर्फी आलोचना भएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस ५, २०७५     3:20:24 PM  |