सदरलाइनडटकम,
नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले अबैध चोरी निकासी तथा तस्करी गर्दै गरेको अवस्थाको करिव सवा सातलाख बराबरको समान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ ।
वडा प्रहरीका ईन्चार्ज नारायण डाँगीले दिएको जानकारी अनुसार वडा प्रहरी नेपालगञ्ज तथा ईप्रका जमुनाहबाट मंसिर २७ गते राती जमुनाह क्षेत्रमा परिचालित टोलिले चेकजांच गर्ने क्रममा वडा नं.१५ जमुनाहगाउ पछाडीबाट भारततर्फ अबैध रुपमा भन्सारछली चोरी निकासी गर्नाको लागि खाली जमिनमा लुकाई छिपाई वेवारिसे अवस्थामा कालो मरिच र लेडिजको सृंगारको सामान बरमद गरेको हो ।
प्रहरीले सो स्थानमा १ हजार २ सय ५ किलो अन्दाजी ४ लाख ८२ हजार मूल्यको कालो मरिच र लेडिज फाउण्डेसन ६ पेटीमा १ हजार ६ सय ८० पिस अन्दाजी १ लाख ६० हजार मूल्यको सामान नियन्त्रणमा लिएर आबश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाईएको प्रहरी निरिक्षक डाँगीले बताए ।
यसैगरी वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट मंसिर २७ गतेसांझ नै बजारक्षेत्रमा परिचालित नियमित मोबाइल गस्तीले नेपालगञ्ज– १० गोसाईगाउंमा भारतबाट नेपालगञ्ज वजारमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी समन ल्याईरहेको करिव ७० हजार बढीको सामान नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा ल्याई रहेको सामान जाँच गरी नियन्त्रणमा लिने क्रममा मालसामान ल्याउनेले सामान छोडी भागी गएको र प्रहरीले सो स्थानबाट अन्दाजी ७० हजार ८ सय ८० मूल्यको पर्दा कपडा ७० मिटर, काँचो कपडा ५ सय २८ मिटर, लेडिज सुट ९२ पिस नियन्त्रणमा लिएर आबश्यक कारबाहीको लागी नेपालगञ्ज भन्सार कार्यालय पठाईएको छ ।