पानीमा आर्सेनिक ! डराउँदै पानी पिउन बाध्य होलियावासी

२५ मंसिर २०७५, मंगलवार १७:१७
 

सदरलाइन / रुद्र सुवेदी ,
नेपालगञ्ज  :  बाँकेको होलियाबासी स्वास्थ्यको दृष्टिले ‘मन्द विष’ को रुपमा रहेको आर्सेनिक युक्त पानी पिउन बाध्य छन् । २०६५ सालमा युनिसेफको सहयोगमा तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले घर–घरमा गएर आर्सेनिक परीक्षण गर्दाको क्रममा साबिक नेपालगञ्ज नगरका दुई वडा, राधापुर गाविसका २ वटावडा, होलिया र बसुदेपुर गाविस पुरै आर्सेनिकको जोखिममा परेको थियो ।
सो अध्ययनले नेपालगन्ज उप–महानगरपालिकाका साविक ५ र १२ ( हालको वडानं. ४ र ९) राधापुर गाविसका ८ र ९ वडा (हाल खजुरा वडा नं. १), होलिया हालको डुडुवा–१ र बासुदेवपुर हालको नेपालगन्ज–१९मा आर्सेनिक भएको र जिल्ला मै सबैभन्दा बढी आर्सेनिकको जोखिममा होलिया रहेको तथ्याङ्ग थियो ।
१० वर्ष यता होलिया या यी क्षेत्रमा न आर्सेनिक नै परीक्षण भएको छ न पानी शुद्धिकरण गरिएको छ । यो ठाँउमा वर्षायाममा राहात वितरण गर्ने टोलीले पानी शुद्धिकरणका लागि वाटर गार्डहरु दिए पनि स्थानीय डराउँदै ‘मन्द विष’ मानिने आर्सेनिक रसायनयुक्त पानी पिउन बाध्य छन् ।
‘हेर्दा नल्का (हेण्डपम्प) बाट निकालेको पानी सफा हुन्छ । बाल्टीमा राखेको पानी एक घण्टा पनि नबित्दै हेर्दाहेर्दै दूधमा तर लागे जस्तो हुन्छ’– डुडुवा गाउँपालिका–१ का ६५ वर्षिय झगरु लोनियाले आपूmले पिउँने पानी देखाउदै भने–‘त्यही पानीले लुगा धुँदा भने पहेंलो हुन्छ । बाढीको बेला यस्तो पानी खानु हुन्न भनेर अर्ति लाउने त धेरै आउछन् तर, हाम्रो नल्काको पानी के भएको हो कोही भन्दैनन् । जोखिम हुन्छ भन्ने डर भए पनि खान बाध्य छौं ।’
उनका छिमेकी ५२ वर्षिय भगवान दिन मौर्य पनि त्यस्तै तर लाग्ने पानि खान बाध्य भएको बताए । उनले भने–‘ हामीले खाने पानीमा के छ भनेर कसैले भन्दैन तर, हेर्दा राम्रो पानी आउँछ, खान्छौं । भाँडामा राखेको पानी हेर्दा हेर्दै मैलो हुन्छ । के भएको हो ? कसैले भन्दैनन् ।’ उनले आफुहरुले खाने पानिमा आर्सेनिकको खतरा छ भन्ने सुनेको गुनासो गरे ।
राप्ती र डुडुवा नदीको छेवैमा रहेको यो गाउँमा हेण्डपम्प गाड्दा कम्तीमा १५ फिट मै पानी आउँछ । कम गहिराइ मै पानी आउँदा कम पाइप प्रयोग हुने र खर्च पनि कम हुने भएकाले स्थानीय गहिराइमा हेण्डपम्प गाड्दैनन् । यहाँका हेण्डपम्प १५ फिटदेखि मुस्किलले ५० फिट गहिराइमा गाडिएका छन् । यस्तो पानीमा आइरन र आर्सेनिकको सम्भावना रहने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङ्गको सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।
‘होलियामा २५ वटा हेण्डपम्पको नमूनामध्ये सात वटामा आर्सेनिक भेटिएको थियो । यहाँको पानीमा अझै धेरै आर्सेनिक भएको आशंका छ’, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङ्गको सम्पर्क कार्यालय बाँक प्रमुख प्रकाश जंग शाहले होलियामा तत्कालीन आर्सेनिक परीक्षणको रिपोर्टबारे प्रष्ट पार्दै भने,‘५० पीपीबीभन्दा बढी आर्सेनिक रसायन भएको पानी मात्र पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हाम्रो नमूनामा होलियामा ७० पीपीबीसम्म पनि भेटिएको रिपोर्ट त आयो तर क–कसको हेण्डपम्पमा आर्सेनिक पाइएको थियो भन्ने खानेपानी कार्यालयसँग पनि रेकर्ड छैन । न त स्थानीयलाई नै तिम्रो हेण्डपम्पको पानी खान योग्य छैन भनिएको छ ।’
उनले २०६५ साल पछि आर्सेनिक देखिएको ठाँउमा त्यसको विकल्प बारे के गर्ने भन्ने कुनै कार्यक्रम समेत नआएको कारण जाँच गर्ने सिवाय अरु केही गर्न नसकिएको स्पष्ट पादै भन्छन्–‘ शुरुमा सफा देखिने पानी केही समयमै फोहर हुँदा स्थानीयमा अनुमानका आधारमा आर्सेनिक हो कि भन्ने डर छ । तर लुगा फोहर हुने वा पानी धमिलो हुँदैमा आर्सेनिक नै हो भनेर नडराउन र आइरन बढी भएको पानीले पनि लुगा धुँदा पहेंलो हुने अरु कारण पनि हुनसक्छन् । यही कारण डराउनु पर्दैन ।’
कार्यालय अनुसार जिल्लामा ८ प्रतिशत वासिन्दा त स्वच्छ र शुद्ध खानेपानीबाट बञ्चित छन् । जिल्लाका ९३ हजार चार सय दुई घरधुरीमध्ये ६ हजार ६ सय ७२ घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेकै छैन । स्वच्छ खानेपानी पिउनेमध्ये ८० प्रतिशतले हेण्डपम्पको र २० प्रतिशतमा मात्र पाइपलाइनको पानी पुगेको छ । नमूना परीक्षणमा भेटिएको आर्सेनिकले जिल्लाका अन्य भेगका हेण्डपम्पको पानीमा पनि आर्सेनिक हुनसक्ने कार्यालयको आशंका छ ।
आर्सेनिकयुक्त पानी लामो समय खाँदा मन्द विष झै छालाका रोग देखिन थाल्छन् । यस्तो पानीले छाला, कलेजोको सिरोसिस, मुटु (उच्च रक्तचाप) र श्वासप्रश्वास सम्बन्धी रोगको सम्भावना रहने भेरी अञ्चल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्रि चापागाईले बताए । ‘आर्सेनिकयुक्त पानी खाँदा शरीरको जुनसुकै अंगलाई हानी पुग्न सक्छ’, डा. चापागाई भन्छन्, ‘शुरुमा छाला कालो हुन्छ । हत्केला र पैतलामा खस्रो खालको दाना आउँछ । नङ ट्ट्ने, सेतो हुने समस्या आउँछ । अन्तिम अवस्थामा विभिन्न प्रकारका क्यान्सरको सम्भावना हुन्छ ।’ राजधानी दैनिकबाट

Next Post

सिक्टाको काम प्रभावित हुन नदिने प्रति नागरिक खुशी

२५ मंसिर २०७५, मंगलवार १७:१७
सदरलाइनडटकम, नेपालगञ्ज : परीक्षणका क्रममा दुईबर्षअघि भत्केको मुलनहरको चार किलोमिटर दुरीमा यसबर्ष पनि परीक्षणमै मुल नहर भत्केपछि निर्माण कार्यमा अनियमितता भएको भन्दै बाँकेबासीले राज्यको ध्यानाकर्षण गराए । विकासका लागि नागरिक सरोकार समितिले स्थलगत अनुगमन गरी तत्काल छानविनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । सिक्टा सिँचाईको पशिचमतर्फको ४५ किलोमिटर लामो मुल नहरको […]