सदरलाइनडटकम,
जनकपुर धाम : जनकपुर उपमहानगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । पोखरी र बिजुलीको ठेक्कामा अनियमितताको आशंकामा अख्तियारले छापा मारेको बताइएको छ ।
अख्तियारको टोलीले यी दुई विषयसँग सम्बन्धित सबै फाइल कब्जामा लिएको छ । साथै यो विषयमा विस्तृत छानबिनका लागि सहयोग गर्न आग्रह गर्दै अख्तियार बर्दिबासको टोलीले नगरपालिकाका मेयर लालकिशोर साहलाई कार्यालयमा उपस्थित हुन भनेको छ ।
अख्तियारले उपमहानगरपालिकामा कर्मचारी नियुक्तिमा पनि अनियमितता भएको पाइएको भन्दै लेखा प्रमुखलाई समेत कार्यालयमा बोलाएको छ । यस विषयमा उपमहानगरपालिकाका मेयर साहसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्न चाहेनन् । उपमेयर रीता झाले भने यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिइन् ।
