इटहरीको एक उद्योगमा आगलागी, करोडौंको क्षति

२५ मंसिर २०७५, मंगलवार १४:३६
 

सदरलाइनडटकम,
सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा रहेको लक्ष्मी फार्म उद्योगमा मंगलवार बिहान अकस्मात् भीषण आगलागी हुँदा करीब दुई करोड क्षति भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एक्कासी डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
उद्योगी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शंकर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ । आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको प्रयासमा नियन्त्रणमा लिइएको ।
तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्योगको आगो नियन्त्रणमा पुगेकाले ठूलो नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । आगो लागेको कारण स्पष्ट नभएको भन्दै उनले आगलागीबाट भएको नोक्सानीका विषयमा तथ्यांक लिने कार्य भइरहेको बताए ।

Next Post

अमेरिकामा हिमआँधीका कारण लाखौं जना प्रभावित

२५ मंसिर २०७५, मंगलवार १४:३६
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकाका विभिन्न राज्यमा आएको हिमआँधीका कारण तीनजनाको मृत्यु भएको छ भने लाखौं जना प्रभावित भएका छन् । आँधीबाट बढी प्रभावित केरोलिना राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । अलाबामा, तेनेसी र जर्जियामा पनि हिमआँधीको असर परेको छ । भारी हिमपातपछि आएको आँधीका कारण हजारौं हवाई उडान रद्द भएका […]