नार्कको कार्यप्रति मन्त्री खनाल असन्तुष्ट

१६ मंसिर २०७५, आईतवार १८:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद् नार्कको काम प्रति असन्तुष्टि जनाएका छन् । नार्कले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा मन्त्री खनालले नार्कको प्रगतिबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई आफ्ना क्रियाकलाप सुधार्न गर्न आग्रह गरे । नार्कको अनुसन्धान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रले पनि लाभ लिन नसकेको मन्त्री खनालको भनाई छ ।
आवश्यकताअनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि मन्त्री खनालले निर्देशन दिए । कृषि अनुसन्धान परिषद्लाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै मन्त्री खनालले पुरानो ढर्रा र सोचबाट अब परिवर्तन सम्भव नहुने दाबी गरे । ऐन संशोधन गरेर परिषद्लाई सशक्त बनाउन आफू क्रियाशील रहेको जानकारी दिँदै उनले एउटा विज्ञ समूह बनाएर यसबारे निर्णय लिने स्पष्ट पारे ।
कर्मचारीका नाममा खुलेका युनियनले परिषद्लाई बनाउने भन्दा पनि ध्वस्त पार्ने काम गरिहेको टिप्पणी मन्त्री खनालको थियो । गोष्ठीमा मन्त्री खनालले जनार्दन गौतम, बशिष्ठ आचार्य र डा.समीद अहमदद्वारा लिखित अदुवा तथा बेसार खेतीमा बाली संरक्षण प्रविधि नामक पुस्तक समेत विमोचन गरेका थिए ।

Next Post

बाँकेका एक युवकको साउदीमा निधन

१६ मंसिर २०७५, आईतवार १८:२६
सदरलाइनडटकम, नेपालगञ्ज : बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका–१ बैरियाका अरुण भनिने बेदनिधि चापागाईको मृत्यु भएको छ । उनको ब्रेन हेम्रेजका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । दुई दिनअघि अत्याधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिवार मृत्यु भएको पुष्टि भएको […]