सदरलाइनडटकम,
कञ्चनपुर : जंगली हात्तीको आतंकले कञ्चनपुरको लालझाडी गाउँपालिका ४ सिकलपट्टी डाङाजाईमा जनजीवन प्रभावित भएको छ । साँझ नपर्दै हात्ती उखु खेतमा आउन थालेपछि स्थानीय बासिन्दाले हात्ती भगाउन पालो मिलाएर रातमा जाग्राम बस्दै आएका छन् ।
साँझ पर्न थालेपछि स्थानीय बासिन्दा हात्तीको डरले गाउँ घरमा हिँडनसमेत छाडेका छन् । तीन दिनको अवधिमै २० बढीको संख्यामा रहेको हात्तीको झुण्डले ६ बिघामा लगाएको उखु र आधा बिघा खेतमा लगाएको केरा बारी पूरै सखाप पारेको चेतना विपद् व्यवस्थापन समितिका अध्यक्ष कृष्णा रानाले बताए ।
उखु र केरा खेती गरी जंगली हात्तीले करिब १० लाख बढीको क्षति गरेको रानाको अनुमान छ । उखुमा सिँचाइ गर्न गाडिएको बोरिङसमेत हात्तीको झुण्डले उखेलेर फालिदिएको उनले बताए । हात्ती नियन्त्रणका लागि स्थानीय तह र सुरक्षा निकायले कुनै सहयोग नगरेप्रति स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।
