‘आठौं राष्ट्रिय खेलकुदको मिति अव सर्दैन’

७ मंसिर २०७५, शुक्रबार १८:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबबहादुर विष्टले निर्धारित समय मै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुने दाबी गरेका छन् । उनले शुक्रबार दिउसो मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन ।
बजेट अभावको कारण भौतिक पूर्वाधार निर्माण कार्य सुस्त भएको जनगुनासो र अडकलबाजी भएकै बेलामा बाँके बर्दियामा जारी भौतिक पूर्वाधार निर्माणको स्थलगत अवलोकन गरी नेपालगञ्ज फर्केका सदस्यसचिव बिष्टले शुक्रबार पत्रकार सम्मेलनमा भने–‘अब कुनै पनि कारणले प्रतियोगिता सार्नु पर्ने अवस्था हामीले देखेका छैनौं । तोकीएकै समयमा खेल सम्पन्न हुन्छ । तर, सरकारले समयमै बजेट निकासा नगर्ने हो भने आफूहरुले चाहेर मात्र हुँदैन ।’
यसअघि मंसिरमा गर्ने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेर माघ २५ गतेदेखि फल्गुन दुई गतेसम्म गर्ने राखेपको बोर्ड बैठकको निर्णय छ । प्रतियोगिताको मिति अब नसर्ने  आश्वस्त  पार्दै  सदस्य सचिव बिष्टले भने–‘जिल्लास्तरको छनौट प्रक्रियाको काम सुरु भईसकेको छ ।  मंसिर १४ देखि २१ गतेसम्म जिल्लाबाट खेलाडी छनौट गरी डेढ महिना प्रशिक्षणपछि प्रदेश स्तरीय प्रतियोगिता हुन्छ । जहाँबाट छनौट भएका खेलाडीहरुलाई १० दिन बन्द प्रशिक्षणमा राखेर फागुन २५ गतेदेखि हुने राष्ट्रिय प्रतियोगितामा सहभागि गराईन्छ ।’
सदस्य सचिव बिष्टले भौतिक पूर्वाधार निर्माणको काममा सरोकार राख्नेहरुलाई आफूले समयमै काम सम्पन्न गर्ने गरी तत्परता देखाउन र प्रत्येक हप्ताको प्रगति विवरण बुझाउन निर्देशन पनि दिईसकेको बताउँदै कुन प्रतियोगिता कहाँ हुन्छ भन्ने अबको १० दिन भित्रमा टुंगो लाग्ने जानकारी दिए ।
आठौं राष्ट्रिय प्रतियोगितामा ३५ वटा खेलमा प्रतिस्पर्धा गराउने र यो पटक प्याराग्लाईडिङ खेल थपेर स्नुकर र ब्लियर्ड हटाईएको पनि उनले जानकारी दिए । प्याराग्लाईडिङ खेल भौतिक पूर्वाधारको अभावमा पोखरामा गर्ने जानकारी दिदै अन्य सबै खेलहरु ५ नम्बर प्रदेश मै आयोजना हुने बताए ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको काम पछिल्लो २ बर्षमा ५० प्रतिशत मात्र सम्पन्न भएको छ । सदस्य सचिव बिष्टले भने–‘कुनै काम सम्पन्न भएका छन, कुनै भएकै छैनन् भने कुनै काम अन्तिम चरणमा छन् । सरदरमा हेर्दा ५० प्रतिशत काम सम्पन्न भएको देखिएको हो । कतिपय पूर्वाधारका काम फिल्डमा नभएर फ्याक्ट्रीहरुमा निर्माण भईरहेकोले काम नभएको जस्तो देखिएको मात्र हो । फिल्डमा गर्नुपर्ने काम अब थोरै छ । अब खुरुखुरु काम हुन्छ ।’
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणतर्फ करिब १ अर्ब ११ करोड रुपैयाँ माग गरिएकोमा सरकारले अहिलेसम्म करिब ३८ करोड मात्र उपलब्ध गराएको छ । भौतिक पूर्वाधार निर्माणको काममा अँझै आवश्यक करिब ७३ करोड रुपैयाँ सरकारले कहिले उपलब्ध गराउँछ भन्ने टुंगो लागिसकको छैन । त्यस्तै प्रतियोगिता आयोजनाका लागि आवश्यक ४२ करोड रुपैयाँमध्ये सरकारले अहिलेसम्म १८ करोड रुपैयाँ मात्र उपलब्ध गराएको छ ।

Next Post

पीस म्याराथनको उपाधि नेपाल प्रहरीका राईलाई

७ मंसिर २०७५, शुक्रबार १८:३५
सदरलाइनडटकम    नेपालगञ्ज  : नेपालगञ्जमा शनिबार आयोजना गरिएको नेपालगञ्ज पीस म्याराथनको उपाधि नेपाल प्रहरीका भुमिराज राईले चुम्न सफल भएका छन् । यो चौथो श्रृंखला हो । सो प्रतियोगितामा उनले सो उपाधिको लागि निर्धारित ४२ दशमलभ १९५ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पार गर्दै नगद ६० हजारसहित ट्रफी र […]