घोराहीमा एक वर्षभित्रै फोहोरबाट ग्यास उत्पादन गरिने

३ मंसिर २०७५, सोमबार १५:५०
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षभित्रै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो ।
दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबर्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास कम्पनी प्रालि काठमाण्डौबीच सोमवार त्रिपक्षीय सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । सम्झौता अनुसार २० करोड रुपैयाँको लागतमा ग्यास उद्योग स्थापना हुनेछ । उद्योगमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी रहेको छ ।
घोराही उपमहानगरपालिका –१६, करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै ग्यास उद्योग स्थापना हुने छ । अब छिट्टै नै निर्माणको प्रक्रिया थाल्ने र १४ महिनापछि ग्यास उत्पादन गर्नेे कम्पनीले जनाएको छ । कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्यास निकाल्ने र ६ टन प्राङगारिक मल उत्पादन गर्ने जनाएको छ ।
उत्पादन थालेको ५ वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहोर संकलन, ढुवानी गरिने र २० वर्षपछि कम्पनीले चालु अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । त्यसैगरी उत्पादनपश्चात् कूल उत्पादनको एक प्रतिशत रोयल्टी रकम नगरलाई बुझाउनु पर्ने छ भने ५ वर्षपछि आवश्यक छलफलका आधारमा निर्धारण गर्ने सम्झौता भएको छ ।

Next Post

ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने हुथी विद्रोहीको घोषणा

३ मंसिर २०७५, सोमबार १५:५०
सदरलाइनडटकम, काठमाण्डौ : यमनको हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ । यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि जारी संघर्ष अन्त्यका लागि संयुक्त राष्ट्रसंघले बिद्रोहीलाई वार्तामा बोलाई बारम्बार युद्धबिरामका लागि पहल जारी […]