जागिर लगाईदिने बहानामा पैसा असुल्ने सेनाका तीन जना बर्खास्त

२ मंसिर २०७५, आईतवार १६:४६
 

सदरलाइनडटकम,
काठमाण्डौ : जागिर लगाईदिने नाममा घुस लिने सेनाका तीन जनामाथि कारबाही गरिएको छ । १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी बिज्ञानदेव पाण्डेको अध्यक्षतामा गठित समरी जनरल अदालतले तीन जनालाई जागिरबाट हटाएको छ ।
भर्ना अभियानमा आर्थिक अनियमिता गर्ने साविक बर्दियाको सानोश्री गाविस ८ घर भई ज्वालादल गण जाजरकोटमा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भई सोही गणमा कार्यरत हवलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गरेको हो ।


 जमदार डाँगीले नेपाली सेनामा भर्ना गराईदिने भन्दै डेढलाख रुपैयाँ लिएको तथा हलवदार रानाले आफनो गाउँको भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेको प्रमाणित भएपछि सेवाबाट हटाईएको हो ।
आर्थिक अनियमितता गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३/३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिए ।

 प्रवक्ता भण्डारीका अनुसार सैनिक हित विपरीत कार्य गरेका उनीहरुलाई सैनिक ऐन २०६३ को दफा ५२ को खण्ड ६ बमोजिम कारबाही गरिएको हो ।
ज्वालादल गण जाजरकोटमा गत जेठ २ गते नेपाली सेनामा भर्ना खुलेको थियो । भर्ना छनौटको मौखिक अन्तरवार्तामा सोधपुछ गर्ने क्रममा भर्ना हुन आएका मध्ये एक जनाले डेढ लाख रुपैयाँ दिइसकेको र एक जनाले भर्ना भएपछि ५० हजार दिने कबुल भएको कुरा खुलेपछि घटना सार्वजनिक भएको थियो ।

Next Post

२ मंसिर २०७५, आईतवार १६:४६