ओलम्पिक महिला फुटबल छनोटमा नेपाल दोश्रो चरणमा प्रवेश

२७ कार्तिक २०७५, मंगलवार १७:३५
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाली महिला फुटबल टोली टोक्यो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेको थियो । तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न सकेन ।
तर, चार समूहमध्ये तेस्रो हुने उत्कृष्ट दुई टिमको रुपमा नेपालले दोस्रो चरणमा प्रवेश पाएको हो । नेपालले प्रतियोगिताबाट बाहिरिइसकेको बंगलादेशसँग मंगलवार भएको खेलमा एक एक गोलको बराबरी खेलेपछि समूहको शीर्ष दुईभित्र पर्ने सम्भावना सकिएको थियो । म्यानमारको थुवुना रंगशालामा नेपालले १७औं मिनेटमै अग्रता लिएको थियो ।
निरु थापाले सुरुवाती गोल गरेकी थिइन् । तर, खेलको अन्तिम मिनेटमा गोल खाएसँगै नेपालले लगातार तेस्रो खेलमा पनि अंक बाँड्नुपर्यो । खेलको इन्ज्यूरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखिल खातुनले गोल गरेकी थिइन् । यसअघि भारतसँगको पहिलो खेल तथा म्यानमारसँगको दोस्रो खेलमा पनि नेपालले बराबरीको नतिजा निकालेको थियो । तीनै खेलमा नेपालले एक(एक गोलको बराबरी खेल्यो ।
पहिलो चरणको छनोटमा १८ टोलीको सहभागिता थियो । जसमध्ये १० टोली दोस्रो चरणमा पुगेका छन् भने बाइ पाएर सिधै दोस्रो चरणमा पुगेका भियतनाम र उज्बेकिस्तानसहित १२ टोलीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिक २०२० को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेल २०१९ अप्रिल १ देखि ९ सम्म हुनेछ ।

Next Post

छठलगत्तै संगठनात्मक एकीकरणको प्रक्रियाले गति लिने : मन्त्री पुन

२७ कार्तिक २०७५, मंगलवार १७:३५
सदरलाइनडटकम, रोल्पा : ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगरले दुई पार्टीको संगठनात्मक एकीकरणको प्रक्रियाले छठलगत्तै गति लिने बताएका छन् । नेकपा रोल्पाले मंगलवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । पार्टी एकीकरण भएको लामो समय भई सक्दा पनि संगठनात्मक रूपमा एकीकणले सोचेजस्तो गति नलिँदा […]