इबोलाका कारण कंगोमा मर्नेको संख्या दुई सय नाघ्यो

२५ कार्तिक २०७५, आईतवार १४:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ । कंगोका स्वास्थ्य अधिकारीका अनुसार देशमा फैलिएको इबोलामा महामारी अहिले थप जोखिमयुक्त बन्दै गएको छ ।
उत्तरी किभु क्षेत्रको बेनी शहर सबैभन्दा बढी प्रभावित भएको छ । ज्यान गुमाउनेमा आधा भन्दा बढी यहि शहरका छन् । यो शहरमा ८ लाख मानिसको बसोबास रहेको छ । इबोलाविरुद्धको खोप कार्यक्रमअन्तर्गत अहिलेसम्म झण्डै २५ हजारलाई खोप लगाइएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन् । इबोलाविरुद्ध जुटेका स्वास्थ्यकर्मीलाई सशस्त्र बिद्रोहीले अवरोध गरिरहेका छन् ।
गत सेप्टेम्बरमा बिद्रोहीले आक्रमण गरेपछि बेनीमा खोप कार्यक्रम तत्कालका लागि रोकिएको थियो । वर्षौंदेखि गृहयुद्ध तथा राजनीतिक अस्थिरताका कारण समस्यामा रहेको कंगोमा त्यसको प्रभाव खोप कार्यक्रममा पनि परेको हो । पछिल्लो पटक गत जुलाईमा इबोलाको महामारी शुरु भएको छ । कंगोमा सन् १९७६ यता फैलिएको १० औँ इबोला महामारी हो ।
पछिल्लो महामारीका कारण अहिलेसम्म २०१ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै २९१ जनामा इबोला संक्रमण पुष्टि भएको कंगोको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा पसिना, यौन सम्बन्ध, वान्ता, स्तनपान, पिसाबका माध्यमबाट इबोला नामक भाइरस सर्ने गर्दछ ।
शुरुमा संक्रमित बाँदर र चमेरोबाट अर्को मानिसमा यो भाइरस सरेको थियो । इबोला संक्रमण भइसकेपछि निको पार्ने औषधि अहिलेसम्म बनेको छैन । तर यसको संक्रमण भएपछि उपचार भने हुन्छ । इबोला संक्रमण नियन्त्रणका लागि खोप लगाइरहे पनि पूर्णरुपमा नियन्त्रण हुन नसकेको डब्लुएचओले जनाएको छ ।
(एजेन्सीको सहयोगमा)

Next Post

दाङको हापुरेमा स्थानीयद्वारा गाउँपालिका घेराउ

२५ कार्तिक २०७५, आईतवार १४:५३
सदरलाइनडटकम, दाङ : शनिवारको दुर्घटनाको विषयलाई लिएर दाङको पश्चिम क्षेत्र हापुरेका स्थानीयले नाराबाजी गर्दै आइतवार दिउँसोदेखि बबई गाउँपालिका घेराउ गरेका छन् । सयौंको संख्यामा रहेका स्थानीयले, ‘स्थानीय सरकार होसियार, हत्यारालाई कार्वाही गर, पीडितलाई उचित क्षतिपूर्ति दे’ भनेर नाराबाजी गर्दै हापुरेमा रहेको गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । बसको ठक्करबाट स्थानीय एकजना […]