सदरलाइनडटकम,
कञ्चनपुर : मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । आईतवार राती मोटरसाइकल दुर्घटनामा परी शुक्लाफाँटा नगरपालिका ११ का ३० वर्षीय पुरन थापाको मृत्यु भएको हो ।
कलुवापुरनजिक म २ प ८१७६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला मोटरसाइकल कल्भर्टमा ठोकिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
दुर्घटनापछि थापालाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको उनले बताए । मोटरसाइकलको पछाडी बसेका त्रिवेणी नगरपालिका ९ बाजुराका २२ वर्षीय गौरव थापा घाइते भएका छन् । घाइते थापाको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
