पूर्णरुपमा सञ्चालनमा नआउदै बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार विवादमा

१५ कार्तिक २०७५, बिहीबार १५:३०
 

सदरलाइन / रुद्र सुवेदी ,
नेपालगञ्ज  : बाँँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीसार राख्ने विषयमा निकुञ्ज र स्थानीय बीच बिबाद चुलिएको छ । बाघ संरक्षणको लागि स्थापना गरिएको मुलुकको सबै भन्दा कान्छो निकुञ्जमा छोटो अवधिमा बाघ बृद्धिसँगै आन्तरिक र वाह्य पर्यटकलाई जंगल सफारीमा आकर्षित गराउन ल्याईएको हात्ती राख्ने हात्तीसार स्थापनाको लागि बिबाद सुरु भएको हो ।
निकुञ्जमा एक वर्ष पहिले हात्ती ल्याउँदा राप्ती सोनारी–९ बुच्चापुर (खेरी)मा अस्थायी हात्तीसार बनायो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको हात्तीसार चयन समितिले राप्ती सोनारी सोही वडा कै ढकेरी चरिङ्गे र खड्गवारमा हात्तीसार बनाउने निर्णय गरेपछि स्थानीयले निकुञ्जको सो कार्यप्रति विरोध जनाएका हुन ।
मंगलबार बुच्चापुर हात्तीसारमा स्थानीय भेला भएका ठूलो संख्याका स्थानीयले प्रदेशसभाका सदस्य कृष्णा केसी ‘नमूना’लाई निकुञ्जबाट बढी पीडित आपूmहरु भएकाले हात्तीसार ढकेरीमा राख्न नहुने भन्दै ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा बागेसाल मध्यवर्ती सामुदायिक वन बुच्चापुरका अध्यक्ष नन्दप्रसाद उपाध्यायले भने, ‘वन्यजन्तु आएर हैरानी भोग्ने हामी । रातभरी ढ्याङ्ग्रो ठोक्ने हामी । हात्तीसार बन्ला, पर्यटक आउँदा फाइदा होला भन्दा त्यसको लाभ निकुञ्जको मध्यवर्ती क्षेत्रपनि नभएको स्थानकाले लिदा हामी अत्यन्तै दुखि छौ ।’
उनले समग्र बुच्चापुरवासीले ढकेरीमा हात्तीसार उपयुक्त नभएको, हात्तीको लागि पानीको स्रोत नहुनु, सिक्टा नहरको जोखिम पनि त्यत्तिकै रहेको र ढकेरी मध्यवर्ती क्षेत्रमा पनि नपर्ने भएकोले जुनसुकै अवस्थामा पनि ढकेरीमा हात्तीसार हुन नहुने जिकिर गर्दै आएको र यो विवाद विभाग हुँदै वन मन्त्रालयसम्म पनि पुगेको बताए ।
प्रगतिशील मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दलबहादुर खड्काले पनि ढकेरीमा हात्तीसार उपयुक्त नभएको बताए । उनले यस्तो तर्क गर्दै भने–‘हात्ती सफारी गर्ने जंगल पनि यही । पानीका स्रोत पनि यहीं । हात्ती चराउने बाटो पनि यही भएपछि दुई चार जनालाई खुसी बनाउन किन अर्को ठाउँमा पनि हात्तीसार राख्ने ?’
ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सदस्य भद्रबहादुर खत्रीले त ढकेरीमा हात्तीसार बनाएकै कारण बुच्चापुर क्षेत्रमा जंगली हात्तीबाट हुने बितण्डाको जिम्मा निकुञ्जले लिनु पर्ने तर्क गरेका थिए ।
संविधानसभाका पूर्वसभासद् अशोक रोकायले ढकेरी मध्यवती क्षेत्रका ६ वटै सामुदायिक वनको चाहाना नै बुच्चापुर राख्नेमा एक मत भएको बताए । रोकाय कै अगुवाईमा विभागदेखि मन्त्रालयसम्म हात्तीसार नसार्न आग्रह गर्दै धेरैपटक धाएको सम्झदै रोकाय भन्छन्, ‘हात्तीसारका लागि बुच्चापुर उपयुक्त हुँदाहुँदै निहित स्वार्थका कारण ढकेरीमा सार्न लागिएको हो । यस विषयमा वन मन्त्रालयले ठोस निर्णय गर्नुपर्छ ।’
स्थानीयको जिज्ञासाको जवाफ दिंदै प्रदेशसभा सदस्य नमूनाले पनि स्थानीयको मागलाई सरकार समक्ष ध्यानाकर्षण गराउने आश्वासन दिदै भनिन्,–‘निकुञ्जबाट जो बढी पीडित छ, निकुञ्जबाट मिल्ने लाभ पनि उसैले पाउनुपर्छ भन्नेमा दुई मत छैन । म यस विषयमा सरकार, मन्त्री र विभागमा पनि दवाब दिन्छु ।’
स्थानीयसँगको छलफलपछि सांसद र सञ्चारकर्मीको टोली बाँके निकुञ्जले ढकेरीको जंगलमा बनाएको तेस्रो हात्तीसारको अवलोकनमा पुगेको थियो । यो हात्तीसार पूर्व–पश्चिम राजमार्गदेखि झन्डै पाँच सय मिटरको दुरीमा रहेको छ । निकुञ्जले ५० लाख रुपैयाँ खर्चेर बनाएको ढकेरीको जंगलभित्रको हात्तीसारमा मंगलबार मध्यान्नतिर सञ्चारकर्मीहरु पुग्दा बाटोको दुबै किनार जोड्ने गरी माकुराले जालो लगाएका थिए ।
हात्तीमा चढ्नका लागि बनाइएको अग्लो मचानको काठमा धमिरा नै धमिरा लागेको थियो । हात्ती बाँध्न बनाइएको भवन उद्घाटन नहुँदै रुखको हाँगो भाँचिएर दक्षिणतिर भत्किएको अवस्थामा भेटिएको थियो । निकुञ्ज कार्यालयले भने झैं आसपासमा कतै पनि पानीका स्रोत थिएनन् ।
यसैबीच बाँँके निकुञ्जका प्रमुख दिलबहादुर पुर्जा मगरले निकुञ्जमा आउने आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्जमा विचरण गर्नको लागि हात्तीसार सञ्चालनमा ल्याईएको बताए ।
उनले हाल चारवटा हात्तीमा जंगल सफारी गराइ रहेको जानकारी दिदै निकुञ्ज र स्थानीयबीच हात्तीसार स्थापनाको विवाद चुलिंदै गएपछि स्थानीयको माग अनुसार तीन ठाउँँमै हात्तीसार राख्ने निर्णय भएको जानकारी दिए ।
‘स्थानीयको विरोधपछि विभागले तीन वटै स्थानमा हात्तीसार बनाउने निर्णय गरेको छ । खड्गवार र बुच्चापुरमा अहिले दुई दुई वटा हात्ती जंगल सफारीका लागि राखिएका छन्’–उनले भने–‘१० वटा हात्तीको दरबन्दी हो । हामी तीन वटै हात्तीसारमा हात्तीको व्यवस्थापन गर्छौं । अहिले ४ वटा छन् । थप ४ वटा माग गरिएका छन् ।’
उनले तीन वटैै ठाँउमा हात्ती राख्न सकिने गरी विभागबाट महानिर्देशको नेतृत्वमा आएको पूर्वाधार समितिको अध्ययन तथा सिफारिसले दिएको सुझावको आधारमा ढकेरीको चरङ्गेमा पोष्ट बनाईएको बताए ।

Next Post

भाइटीकाको उत्तम साइत सार्वजनिक

१५ कार्तिक २०७५, बिहीबार १५:३०
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल पञ्चाङ निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । समितिले शुभ बेलाको साइत दिएको हो । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु […]