सदरलाइनडटकम ,
काठमाण्डौ : नेपालगञ्जको भेरी अञ्चल अस्पतालको स्तरोन्नती हुने पक्का भएको छ । नेपालगन्जमा विरामीहरुको चाप र जीर्ण भवनका कारण सेवा सुचारु गर्नलाई कठिनाई आएको बेलामा अस्पतालको स्तरोन्नती र इन्डोर ब्लक निर्माण संगै हुने भएको छ ।
सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको विशेष पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।
यो आर्थिक बर्षमा बजेट विनियोजन नभएता पनि सहरी विकास मन्त्री राईले जिम्मेवारी सम्हालेसँगै इन्डोर ब्लक निर्माणका लागि निरन्तर पहलकदमी लिँदै आएका थिए । यो उनको निर्वाचन क्षेत्र समेत हो ।
मन्त्री राईले चुनावको बेलामा भेरी अञ्चल अस्पताललाई ५ सय शैयाको सुविधासम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता उनको घोषणा पत्रमा नै उल्लेख रहेको थियो ।
मन्त्री राईको पहलमा स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेकोमा सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको हो ।
सहरी विकास मन्त्री राईको पहलमा यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणार्थ अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागि मन्त्री राईले आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालयमार्फत भेरी अञ्चल अस्पतालको स्तरोन्नतीका लागि अग्रसरता देखाएका हुन् ।
मन्त्री राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफू निरन्तर प्रयत्नरत रहेको बताए । उनले भने,–‘भेरी अञ्चल अस्पतालको स्तरबृद्धि गर्दै ५ सय शैयाको बनाउन पहल भईरहेको छ । चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउन मेरो पहल जारी रहने छ ।’
भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि ईन्डोर भवन बनाउन १२ बर्ष अघिदेखि पहल भईरहेको भए पनि सार्थक हुन सकेको थिएन ।
भेरी अञ्चल अस्पतालमा हाल १ सय ५० शैया रहेको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिए । विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता टड्कारो देखिएको अस्पतालका डक्टरहरुको भनाई छ ।
मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले हाल चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर व्लकमा विरामीहरुका लागि ईन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए ।