सदरलाइनडटकम,
काठमाण्डौ : बलिउडका महानायक अमिताभ बच्चन आज आफ्नो ७६ औं जन्मदिन मनाउँदै छन् । सन् १९४२ अक्टुबर ११ तारिखमा भारतको इलाहवादमा जन्मिएका बच्चनलाई बलिउडमा एङग्री योङम्यान, शहनशाह, बिग बि लगायत कयौं नामले चिनिन्छ ।
७६औं वर्षको उमेरमा पनि बच्चन जोश र हौसलाका साथ बलिउड तथा टेलिभिजनमा काम गरिरहेका छन् । अमिताभ बच्चन सफलताको शिखरमा सजिलै भने पुगेका होइनन् । उनले जीवनको आरोहअवरोहसमेत भोगेका छन् ।
एकपटक उनी पूर्णरुपमा ऋणमा डुबेका थिए । अमिताभलाई अभिनय गर्ने रहर बाल्यकाल देखिनै थियो । उनले सेन्टमेरी स्कुलबाट ढाई शुरु गरेका थिए । त्यसपछि उनलाई नैनीतालको शेरवुड स्कुलमा पठाइयो । स्कुलमा अमिताभ हरेक वर्ष अभिनयमा भाग लिन्थे । अमिताभको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । त्यसको केही समयपछि उनले फिल्म ‘आनन्द’मा अभिनेता राजेश खन्नाका साथ काम गरे ।
यही फिल्मबाट बलिउडमा आफ्नो पहिचान बनाउँदै अमिताभले बेस्ट सपोर्टिङ एक्टरको अवार्ड पाएका थिए । यसपछि उनले फिल्म ‘बम्बे टू गोवा’ मा काम गरेपनि फिल्म सफल भएन । अमिताभलाई भने यसै फिल्मको एक फाइट सिन हेरेर निर्देशक प्रकाश मेहराले उनको फिल्म ‘जंजिर’ मा मुख्य अभिनेताको रुपमा लिए ।
जुन फिल्म बक्स अफिसमा सुपरहिट भयो । यसपछि अमिताभका साथ काम गर्न नमान्नेहरु पनि अमिताभको अघिपछि लाग्न थाले । शुरुमा अमिताभ निकै अग्लो र दुब्लो पातलो भएकै कारण फिल्महरुमा काम पाउँदैन्थे । उनलाई भारतको अलइण्डिया रेडियोले समेत आवाज नराम्रो भनेर निकालिदिएको थियो । अमिताभको जीवनमा एक यस्तो समय पनि आयो जुनबेला उनले कमाएको स्टारडममा कमी आउन थाल्यो ।
उनलाई फिल्ममा काम पाउन कमी हुन थाल्यो र अभिनय गरेका फिल्महरु समेत एक पछि अर्को गर्दै फ्लप हुन थाले । एकै पटक कयौं फिल्म फ्लप भएपछि उनको जीवन निराशामा बित्न थाल्यो । उनले फिल्ममा काम गर्न बन्द गरे । त्यसपछि अमिताभले उनका साथी राजीव गान्धीको आग्रहमा राजनीति गर्न थाले । तर राजनीतिमा पनि उनी जम्न सकेनन । तीन वर्षमै राजिनामा दिएर राजनीतिबाट बाहिरिए ।
त्यसपछि उनले आफ्नै प्रोडक्शन कम्पनी खोले । जसलाई उनी उत्कृष्ट कम्पनी बनाउन चाहन्थे । उनले कयौं कलाकारलाई यही कम्पनीका माध्यमबाट फिल्ममा काम गर्ने अवसर दिए । तर यस कम्पनीबाट पनि उनी असफल भएपछि अमिताभको हौसला हराई सकेको थियो । सन् २००० को नयाँ वर्ष अमिताभ बच्चनको जीवनमा नयाँ उर्जा लिएर आयो ।
त्यही वर्ष अमिताभलाई टेलिभिजन च्यानलबाट ‘कौन बनेगा करोडपति’ मा काम गर्ने अफर आयो । उनले पहिलो पल्ट टेलिभिजनमा डेब्यू गरे । दर्शकले यो शो निकै मन पराए । यो शो निकै सुपरहिट बन्यो । ‘कौन बनेगा करोडपति’ ले अमिताभ बच्चनको जीन्दगी फेरिदियो । अमिताभको आर्थिक स्थिति पनि सुध्रिन थाल्यो । उनलाई लागेको ऋण पनि सबै चुक्ता गरे । त्यही वर्ष यश चोपडाको फिल्म ‘मोहब्बतें’ मा उनले शाहरुख खानका साथ काम गरे ।