सदरलाइनडटकम
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–५ अरनिकोनगर जीगाउँको प्रभात माध्यमिक विद्यालयका लागि बस किन्न अभिभावकले १९ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
सामुदायिक विद्यालयलले पनि निजि विद्यालयको जस्तै सेवा र सुविधा दिनको लागि विभिन्न योजनाहरु अघि सार्दै विद्यार्थीलाई आफुतिर आकर्षण गर्नको लागि विद्यालयले बस किन्ने योजना अघि सारेको हो । यसका लागि विद्यालयको लागि कम्तीमा पनि २६ लाख रुपैयाँ आवश्यक रहेको जनाएको छ ।
दशैंको शुभकामना आदान–प्रदान कार्यक्रमका लागि विद्यालयले डाकेको भेलामा ५० जना अभिभावकबाट १९ लाख दुई हजार रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनारले बताए ।
सुनारले स्व.पत्नी कमलादेवी सुनारको सम्झनामा एक लाख एक हजार एक सय ११, शिक्षक अभिभावक संघका अध्यक्ष कुवेर रिजालले एक लाख पाँच हजार दुई सय एक रुपैयाँलगायत १२ जनाले एक लाख रुपैयाँभन्दा बढी सहयोग गरेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिए ।
२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले प्लस टु पनि सञ्चालन भइरहेको छ ।
विद्यालयमा विद्यार्थीको चाप बढाउनको लागि शैक्षिक गुणस्तर बढाउनुको साथै भौतिक सुविधा पनि दिदै जाने योजनामा यो शैक्षिक सत्रबाटै विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि स्कुलको बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको अध्यक्ष सुनारले जानकारी दिए ।